नयाँ खेल, नयाँ मैदान, कडा संघर्ष पछि जीत मेरो

अघिल्लो दिन केही लक्षणहरु देखिएको थियो । भोलिपल्ट एक्कासी हात खुट्टा दुख्ने, छातीमा गाह्रो भए जस्तो हुने, टाउँको फुट्ला जस्तो गरी दुख्ने हुन थाल्यो ।  ज्वरो देखिन थाल्यो, १०२ डिग्री भन्दा बढी पुग्न थाल्यो ।

त्यसबेला मैले सोचें कोभिड – १९ ले समात्यो । मैले ढिला नगरी पीसीआर जाँचका लागि टेकुस्थित प्रयोगशाला पुगेँ । सोंचेजस्तै भयो अर्थात पीसीआर जाँच गराउँदा कोभिड – १९ पोजेटिभ देखियो ।

यो दुई साता अघिको कुरा थियो ।

…………………………………………………….

त्यसो त मैले लक्षण देखिनासाथ तातोपानी ,बेसार, अदुवा, गुर्जो जस्ता धेरै जरिबुटी खान सुरु गरिसकेको थिएँ । तर मलाई त्यसले काम गरिरहेजस्तो लागेन, झन् झन् गाह्रो हुँदै गयो । अव घरमा बसेर हुँदैन् जति सक्यो छिटो अस्पताल जानुपर्छ भन्ने निस्कर्ष निकालें ।

भाइसाथीसंग सल्लाह सुझाव लिएँ, त्यहाँको डाक्टरसंग कुरा गरें अनि कीर्तिपुरस्थित आयुर्वेद अस्पताल तर्फ लागें । त्यहाँ एक रात बसियो । विहान उठेर मुख धुँदा एक्कासी मुखबाट रगत आयो । साफ फेर्न नि थप गाह्रो भयो । त्यसपछि प्रतिभा विष्ट दिदीलाई खबर गरेँ । उहाँले मेरो अवस्था बुझेर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा जाने बाताबरण बनाइदिनु भयो । बलम्बु अस्पताल पुग्दा मेरो ज्वरो १०३ भन्दा माथि थियो । सास फेर्न झन् झन् गाह्रो भएको थियो ।

……………………………………………………………..

अरुले सोधिरहेका हुन्थे । ‘कस्तो छ ?’ भनेर मैले ठिक छ भनेर टार्दथें । तर भित्र भित्र निकै असहज महसुस भइरहेको थियो ।
लक्षणहरुले च्याप्दै जाँदा डर पनि लागेर आउन थाल्यो । तर झट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झें । त्यति पाको उमेरमा दुई पटक मिर्गौला फेर्नु भयो । त्यसअघि आकस्किम शल्यक्रिया गर्नुभयो र पनि उहाँको आत्मबलमा कुनै कमी छैन् । रोगलाई परास्त गर्ने एउटा कडी आत्मबल पनि हो भन्ने उहाँबाट पनि सुनिरहेको हुन्थें । त्यसपछि मेरा मनमा आएका नकारात्मक सोचहरु हटाउन थालें । यो रोगलाई धेरैले जितेका छन् , जितिन्छ र जित्नुपर्छ भन्ने अठोट लिएँ ।

मनमा दह्रो अठोट लिएँ, डाक्टरको औषधीउपचार पनि नियमित रुपमा भइरहेको थियो । त्यसले मेरो समस्या विस्तारै कम हुन थाल्यो । एपीएफ भर्ना भएको नवौँ दिनमा पीसीआर जाँच गराएँ, एघारौँ दिनमा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि म डिस्चार्ज भएर आएको छु ।

………………………………………………………………

यो बीचमा मलाई सहयोग र हौसला दिने आदरणीय दाजु जगत नेपालीलाई विषेश धन्यवाद दिन चाहन्छु । अस्पतालमा अहोरात्र उपचारमा खट्ने चिकित्सक नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा धन्यवाद दिन चाहन्छु । मेरो स्वास्थ्यमा विशेष चासो लिने माननीय स्वास्थ्य राज्यमन्त्री नवराज रावत, आफन्त शुभचिन्तक साथी भाईप्रति हार्दिक आभार प्रकट गर्दछु ।

यो बीचमा मैले बुझेको कुरा कोरोनालाई केही होइन भनेर सामान्य रुपमा लिनु हुँदो रहेनछ । हामी जस्तो युवाहरुलाई पनि यसले समस्या पार्दो रहेछ । त्यसैले विज्ञहरुले भनेका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको अनिवार्य रुपमा पालना गरौँ । कोरोना लाग्यो भनेर नआत्तिऔँ तर सचेत भने हुनै पर्दछ । र यो रोगसंग लड्नका लागि आत्मवल बढाउनु अत्यन्त जरुरी छ । कोरोना संक्रमण र उपचार मेरो लागि नयाँ मैदान, नयाँ गेम थियो तर कडा संघर्षका साथ जितियो भन्ने लागि रहेको छ ।

# भर्खरै कोरोनामुक्त भएका क्षत्री स्वास्थ्यराज्य मन्त्रीका सचिवालय सदस्य हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *