प्रदेश–२ मा कोरोना संक्रमणबाट मुक्त हुने १२ हजार नाघे

92
Shares


महोत्तरी, १ कात्तिक । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिएका छन् । यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।

गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा सङ्क्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताउछन् ।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको अभिलेख छ । त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *