लमजुङ : फालिएका मास्कबाटै कोरोना संक्रमणको उच्च जोखिम


लमजुङ, ३० असोज । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।

चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले मास्क बिना हिड्डुल गर्ने र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त भएको बेँसीशहर नगरपालिका ७ का बिपिन श्रेष्ठले बताए ।

प्रयोग गरी फालिएको मास्कमा थुक, ¥याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई सङ्क्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लाबासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, “प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।”

जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् ।

जिल्लामा बिहिबार बिहानसम्म ११४ महिला र ३६० पुरुष गरी ४७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । यीमध्ये, ८६ महिला र २९६ पुरुष गरी ३८३ सङ्क्रमित निको भइसकेका छन् भने २८ महिला र ६४ पुरुष गरी ९२ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचाररत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *