कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ‘क्वाटर’ छाड्न सात दिने म्याद

काठमाडौँ, ४ भदौ ।  दक्षिणकालि नगरपालिका फर्पिङका प्रशासकीय अधिकृत दिपककुमार केसीले प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलका प्रमुख डा सरिता विकलाई निर्णय कार्यान्वयन गराउने बारे भन्दै पत्र पठाए ।

गत मंगलबार लेखिएको पत्र स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले प्रयोग गर्दै आएको केन्द्रको क्वाटर सात दिन भित्र खाली गर्नु भन्ने विषयको थियो ।

पत्रमा क्वाटर खाली गर्नुपर्ने स्वास्थ्यकर्मीलाई बोधार्थ दिइएको थियो । उनीहरु थिए हेल्थ असिस्टेन्ट पाँचौँ सुशीला काप्री, अनमी पाँचौँ राधा कुवँर, सीअनमी पाँचौँ सुमित्रा खड्का र सिअहेव पाँचौँ इन्द्रकला बेलवासे । उनीहरुमध्ये सुशीला काप्री र सुमित्रा खड्का अहिले कोरोना संक्रमित राखिएको आइसोलेसनमा नियमित डिउटी गर्दै आएका छन् ।

‘पहिलो कुरा प्राथमिक स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मी भनेपछि अहिले अन्यत्र डेरा नै पाइदैन्, अझ त्यसमा संक्रमितकै उपचार गर्ने आइसोलेसनमा खटिएको भनेपछि त कोठा पाउने भन्ने निक्कै परको कुरा तर नगरपालिकाले जसरी पनि निर्णय कार्यान्वयन गर्नु भनेर आदेश दिएको छ,’ केन्द्रकी प्रमुख डा सरिता विकले नेपाली हेल्थसंग भनिन् । उनले प्राथमिक स्वास्थ्य केन्द्रको टप फ्लोरमा रहेको चारवटा क्वाटर खाली गराउन निर्देशन आएको बताइन ।

‘सबैजना महिला हुनुहुन्छ । र कोभिड १९ को विरामीकै उपचारमा खटिएको अवस्था छ । यस्तो बेलामा बैकल्पिक व्यवस्था नभईकन् यसरी पत्र काट्दा निकै अफ्टेरो महसुस भईरहेको छ । कोठा कहि पाइदैन्, दिन्छौँ भनेकाले पनि स्वास्थ्यकर्मी भनेपछि अहिलेलाई हुँदैन भनेका छन् । कसरी उहाँहरुलाई बाहिरिनुस भन्ने ? बरु नगरपालिकाले नै कोठा खोजिदिए हुन्थ्यो ,’उनले भनिन् ।

डा विकले आइसोलेसन बनाउने भनिएपनि निर्णय एक्कासी आएको बताइन । ‘पहिले देखि नै क्वाटर खालि गर्न पर्न सक्छ भन्ने त भनिएको हो तर यो बेलामा अन्यत्र नपाइने त्यसैले उहाँहरु यहि बसेर डिउटी गर्नु भएको थियो । अब त समस्या छ,’ उनले भनिन् ।

नगरपालिका भित्र करीब १० जना संक्रमित रहे पनि अहिले आफूकहाँ २ जना संक्रमित आइसोलेसनमा उपचार भइरहेको डा विकले बताइन ।

आन्तरिक सरुवा

त्यसो त नगरपालिकाले कोठा खाली गर्न भनिएका चार मध्ये तीन जनाको आन्तरिक सरुवा समेत गरिसकेको छ । नगरपालिका भित्र अन्यत्रको स्वास्थ्य संस्थामा पठाइको पत्र पनि आइसकेको छ ।

‘यसले गर्दा क्वाटर खाली गर्न झन् दवाव बढेको छ । उहाँहरुलाई क्वाटर खाली गर्न गाह्रो थिएन तर यो बेलामा बाहिर कोठा पाउन गाह्रो हुने भएकोले मात्रै हो,’ उनले स्पष्ट पारिन् ।

बुधबार सामाजिक सञ्जालमा यो पत्र सार्वजनिक भएपछि आम स्वास्थ्यकर्मी तथा सर्वसाधारणले भने नगरपालिकाको निर्णयको चर्को आलोचना गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *