देशभरमा कोरोना संक्रमितको संख्या १८ दिनमा दोब्बर भयो तर काठमाडौँमा आठ दिनमै

काठमाडौँ, ४ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको विन्दुमा पुगेको ब्रिफिङ गरेका छन् । उनीहरुले तत्काल थप कडा कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमण दर बढ्रदै गएपछि प्रधानमन्त्री ओलीले बुधबार बेलुकी कोभिड – १९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठक आयोजना गरेका थिए । उनले अहिलेको अवस्था र भावि दिनमा सरकारले चाल्नुपर्ने कदमबारे सुझाव मागेका थिए ।

सो क्रममा स्वास्थ्यका अधिकारीहरुले काठमाडौँ लगायतका कतिपय जिल्लामा समुदाय स्तरमा संक्रमण देखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

‘काठमाडौँ उपत्यकाको तथ्यांक केलाउँदा कोरोना संक्रमण ८ दिनमा दोब्बर भएको छ । जवकी देशभरको तथ्यांक हेर्दा १८ दिनमा दोव्वर देखिएको छ । यसैले बढी जनघनत्व भएको काठमाडौँमा अवस्था विग्रदो क्रममा छ । यसलाई रोक्न मन्त्रिपरिषद्ले थप निर्णय लिनु आवश्यक छ भनेर सुझाव दिईयो,’ स्वास्थ्यका अधिकारीले भने । उनले बैठकमा काठमाडौँ उपत्यकामा कन्ट्याक्ट ट्रेसिङलाई चुस्त बनाउनुपर्ने र आइसोलेसनलाई थप गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराएको समेत बताए ।

बैठकमा स्वास्थ्यको तर्फबाट मन्त्री भानुभक्त ढकाल, प्रमुख विशेषज्ञद्धय डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठसहितको टोली सहभागी थियो ।

काठमाडौँमा किन जोखिममा ?
स्वास्थ्यका एक अधिकारी भन्छन्, देशभर कोरोनाबाट देशमा मृत्यु हुने दर संक्रमणको दर हेर्दा १८ दिनमा दोब्बर भएको छ । तर काठमाडौँमा संक्रमण दर अहिले आठ दिनमै दोब्बर हुने गरेको छ र यो बढ्दो क्रममा छ । काठमाडौँको बसोबास र यहाँको ठूलो जन घनत्वको कारण संक्रमण फैलने उच्च जोखिम छ ।

उनले पछिल्लो समय उपत्यकामा मृत्युदर समेत बढेको बताए । ‘ कोरोनाबाट देशमा मृत्यु हुने दर  सून्य दशमलव ४ छ तर काठमाडौँमा मृत्युदर सून्य दशमलव ६ पुगिसकेको छ । केही समय अघिसम्म देशभरका ६० वर्ष माथिका १ प्रतिशत नागरिक यसको संक्रमणमा परेका थियो । तर अहिले ६० बर्ष माथिका ३ प्रतिशत मानिसहरु यसको संक्रमणमा परेका छन् । त्यसैले पनि यसको जोखिम बढ्दो क्रममा छ । यसको नियन्त्रणको लागि सरकारले थप कदम चाल्नुपर्छ,’ ती अधिकारीले भने ।

बैठकमा प्रधानमन्त्रीले अवस्था भयावह देखिएको भन्दै के कसरी यसलाई नियन्त्रणमा गर्न सकिन्छ भन्ने विषयमा सबै मन्त्रालयबाट सुझाव मागेका थिए । उनले आउँदो मन्त्रीपरिषद बैठकले थप केही निर्णय गर्न सक्ने संकेत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *