स्वास्थ्यकर्मीलाई ‘आधा तलव’मा काम गराउने योजनामा न्याम्स !

काठमाडौँ, ३ भदौ । कोरोना संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागले करार सेवामा काम लगाउन भन्दै पटक पटक चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुका लागि विज्ञापन आवह्वान गरिरहेको छ । मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा कोभिड -१९ बिरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई सत प्रतिशतसम्म जोखिम भत्ता समेत उपलव्ध गराउने निर्णय गरेको छ ।

तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफू मातहतका अस्पतालमा विकास समितिद्धारा नियुक्त चिकित्सक तथा नर्स तथा स्वास्थ्यकर्मी, अस्थायी करार तथा ज्यालादारीमा काम गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई यो बेला ५० प्रतिशत काटेर दिने योजना अघि बढाउँदै छ ।

‘ न्याम्सको आफ्नो आम्दानीले तलव खुवाउन पर्ने स्वास्थ्यकर्मीका लागि यो सोच बनाईएको हो । तै पनि अन्तिम निर्णय भने  भइसकेको छैन् । तपाईँलाई थाह नै छ, अहिले अस्पताल चरम आर्थिक संकटमा छ । त्यसैले अहिले आधा तलव लिएर पछि हुँदा खेरी सोधभर्ना गर्ने कि भन्ने योजनामा छलफल भएको हो,’ न्याम्सका उपकुलपति प्राडा डिएन साहले भने ।

उनले आफूले विकास समिति अन्तरगर्तका सबै स्वास्थ्यकर्मी तथा कर्मचारी समेत गरी वीर मात्रै करीब २०० जना रहेको भन्दै पुरा तलव खुवाउन अहिले गाह्रो भएको बताए ।

त्यसो त वीरले ती अस्थायी करार तथा ज्यालादारीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड – १९ विरुद्धको काममा खटाइरहेको छ । त्यस वापत आफूहरुले जोखिम भत्ता भने दिने उपकुलपति प्राडा साहले स्पष्ट पारे ।

‘अहिले खासमा तलवको समस्या हो । आम्दानी नभएको बेलामा अहिले आधा आधा गरौँ कि भन्ने कुरा हो । स्वास्थ्यकर्मीहरुसंग पनि सल्लाह गरेर अन्तिम निर्णय लिन्छौँ । कतिपय ठाँउमा कर्मचारीहरु कटौती गरेका पनि सुनेका छौँ । हामीले कम्तिमा जागिर बचोस भनेर यस्तो योजना बनाएका हौँ,’ उनले अल्पकालिन योजनाबारे थप स्पष्ट पार्ने प्रयास गरे ।

आफूहरुले तत्कालको क्राइसिस म्यानेज गर्न स्वास्थ्य र अर्थ मन्त्रालयसंग पनि अनुरोध गरेको तर अहिलेसम्म केही जानकारी नआएको उनले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *