‘रेमडिसिभिर’ आयात गर्न औषधि व्यवस्था विभागको अनुमति

काठमाडौँ, ३१ साउन । औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा विभागले ‘क्लिनिकल ट्रायलका लागि मात्र’ भन्दै ‘रेमडिसिभिर’ आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले परिषद्ले क्लिनिक ट्रायलका लागि औषधि आयात गर्न अनुमति दिनु भन्ने पत्र पठाएपछि ढिला नगरी निर्णय गरेको बताए । ‘परिषद्ले रेमडिसिभिर औषधि कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायल गर्ने त्यसका लागि औषधि आयात गर्नका लागि औषधि व्यवस्था विभागबाट अनुमति दिनु भन्ने बारेमा आजै निर्णय भएको रहेछ । हामीलाई सो सम्वन्धी परिषद्को पत्र आजै पायौँ । पत्र पाए लगत्तै हामीले आजै निर्णय गरयौँ र आयातकर्ताहरुलाई समेत सो अनुमति पत्र उपलव्ध गराईसकेका छौँ,’ महानिर्देशक ढकालले भने ।

विभागले भारतको औषधि कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर मात्रै आयात गर्न सकिने निर्णय गरेको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेमडिसिभिरको बारेमा परिषद् र विभागले गरेको निर्णय सुझबुझपूर्ण रहेको बताए । ‘यस्तो निर्णय केही अघि नै हुनुपर्दथ्यो । केही ढिलाई त भयो तर आज जे भयो राम्रो भयो । अब बढीमा बिहीबार सम्ममा  औषधि नेपाल भित्रन्छ,’ उनले  भने ।

विभागका महानिर्देशक ढकालले भने आफूसंग आयातकर्ताले तीन दिन भित्र औषधि ल्याउने प्रतिवद्धता जनाएको बताए ।

रेमडिसिभिरलाई विभागले अनुमति नदिदा नेपालमा यसको प्रयोग अवैध रुपमा हुने गरेको थियो । भारतीय सिमा क्षेत्रबाट कालाबजारीमा महंगो मूल्य तिरेर कतिपय सर्वसाधारणले आफ्ना गम्भीर अवस्थाका विरामी आफन्तका लागि यो औषधि खरीद गरी ल्याउन बाध्य थिए ।

अमेरिका, युरोप तथा भारतमा समेत प्रयोग भएको यो औषधि नेपालमा ल्याउन दिन ढिलाई गरेको भन्दै कतिपय चिकित्सकहरुले सरकारसंग असन्तुष्टि जनाउँदै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *