पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : चिकित्सकसहितका आरोपी धरौटीमा छुटे

काठमाडौँ, २८ साउन ।  चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)मा गरिएको मिर्गौला प्रत्यारोपण ‘काण्ड’मा सम्लग्न भएको आरोपमा पक्राउ परेका १२ जना धरौटीमा छुटेका छन् ।

मंगलबारको थुनछेक बहसपछि जिल्ला अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि बुधबार उनीहरु छुटेका हुन् ।

ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले मिर्गौला प्रत्यारोपण ‘काण्ड’का आरोपीहरु धरौटीमा छुटेको बताए । ‘अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ,’ उनले भने, ‘मुख्य तीन जना अभियुक्तलाई ४ लाख जनही धरौटीमा छाडिएको छ ।’ यस्तै, अदालतले मिर्गौला बेचेको आरोप लागेका व्यक्तिलाई २० हजार धरौटीमा छाडेको छ ।

अदालतले प्रत्यारोपणमा संलग्न डाक्टरसहितका अन्यलाई ५०—५० हजार धरौटीमा छाडेको हो । उनीहरुलाई सुरुमा मानव बेचबिखन ऐनअन्तर्गत मुद्धा चलाउने तयारी प्रहरी गरेको थियो । तर, अदालतले अस्पताल जोडिएको घटनाभन्दैं उक्त ऐनअन्तर्गत मुद्धा दर्ता गर्न अस्वीकार गरेपछि मानव अंग प्रत्यारोपण ऐन अन्तर्गत प्रहरीले मुद्धा चलाएको थियो ।

गत वर्ष २७ जेठमा पुरानो मेडिकल कलेजमा गरिएको मिर्गौला प्रत्यारोपण अवैध भन्दै अंगदाताको तर्फबाट उजुरी दिएपछि व्यूरोले अनुसन्धान अघि बढाएको थियो ।

सो प्रकरणमा व्यरोले जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, मेडिकल कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले र कलेजका प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठ, कलेजमै कार्यरत डा बालकृष्ण कालाखेती र त्यसबेला प्रत्यारोपणमा सहभागी भएका नोवेल अस्पतालका डा राकेशकुमार बर्मालाई नियन्त्रणमा लिएको थियो ।

यस्तै भक्तपुर नगरपालिका ६ का जमुना राजभण्डारी, प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलियालाई समेत नियन्त्रणमा लिएको थियो ।

यस्तै भक्तपुर जगाती बस्ने रेश्मा राई, ललितपुर म नपा वडा नं ३ का वडाअध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालिन खरिदार नवराज केसी र सोही कार्यालयका कार्यालय सहायक नवराज केसी रहेका थिए ।

उनीहरुलाई गत २७ र २८ असारमा चितवन, काठमाडौँ र ललितपुरबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *