तीन जना सीअहेव, दुई जना अनमीसहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पर्सा, १२ साउन । पर्सा जिल्लामा आइतबार थपिएका १८ जना संक्रमितमध्ये ८ जना स्वास्थ्यकर्मीहरु रहेको पाइएको छ । जिल्लाका विभिन्न गाँउपालिकामा कार्यरत तीन जना सिअहेव, दुई जना अनमी र ३ जना स्वास्थ्य सहायक गरी कुल ८ जनामा कोरोना संक्रमण देखिएको कोभिड-१९ अस्थायी अस्पताल गण्डकका संयोजक डा उदयनारायण सिंहले बताए ।

समुदायस्तरमा कोरोना फैलिएको भन्दै वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । तर संक्रमण गाँउ गाँउमा फैलिएको छ । ‘पहिले क्वारेन्टिनमा रहेकाहरुको परीक्षण हुन्थ्यो तर अहिले गाँउ गाँउबाट लक्षण लिएर परीक्षणका लागि आउने गरेका छन् । यसले अवस्था जटिल देखाउँछ,’ डा सिंहले भने ।

कोभिड – १९ अस्पतालमा ५८ जना अधिकांशमा लक्षण
पचास शैया क्षमताको नारायणी अस्पतालको जिम्मामा रहेको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा अहिले ५६ जना संक्रमित र दुई जना संकास्पद गरी ५८ जना भर्ना भएका छन् । तीमध्ये ४ जना आईसीयूमा रहेका छन् । आईसीयूमा रहेकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पतालका संयोजक डा सिंहले अहिले भर्ना भएकामध्ये अधिकांशमा लक्षण देखिएको बताए । ‘कोरोनाको यो दोस्रो वेव अलि खतरनाक जस्तो देखिन्छ । समुदायस्तरमा यसको संक्रमण फैलिएको हुनाले अब आम समुदाय नै गम्भीर बन्न जरुरी छ,’ उनले भने ।

भारतबाट आउने कामदारसंगै छिर्‍यो संक्रमण
पर्सा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुमा काम गर्ने ठूलो संख्यामा भारतीय मजदुरहरु छन् । ‘लकडाउन खुलेसंगै उद्योग धन्दा सञ्चालन गर्ने भन्दै कतिपय उद्योगीहरुले भारतीय ती मजदुरलाई चोरबाटोबाट नेपाल छिराए । ती मध्ये कतिपय संक्रमित थिए । तर उनीहरुलाई धमाधम काममा लगाउन थालियो । यसले गर्दा कम्पनीका अन्य कामदार, माथिल्लो स्तरका कर्मचारीहरुमा समेत संक्रमण देखिएको हो,’ डा सिंहले ठोकुवा गरे ।

आइतबार वीरगञ्जमा एक जना भारतीयको कोरोनाबाट मृत्यु

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक अस्थायी कोभिड(१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको डा सिंहले बताए । उनलाई एकहप्ता देखि ज्वरो आइरहेको थियो।

धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *