मिर्गौला प्रत्यारोपण काण्ड : नियन्त्रणमा लिइएका १२ जनालाई ५ दिन हिरासतमा राखिने

काठमाडौँ, २८ असार । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गर्ने गराउने कार्यमा सम्लग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यसअघि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले शनिबार र आइतबार नियन्त्रणमा लिइएका १२ जनालाई म्याथ थपको लागि अदालत लगेको थियो । अदालत लग्नु अघि उनीहरुको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

गत वर्ष २७ जेठमा कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) चितवनमा गरिएको मिर्गौला प्रत्यारोपण अवैध भन्दै अंगदाताको तर्फबाट उजुरी दिएपछि व्यूराले अनुसन्धान अघि बढाएको थियो ।

व्यूरोले अनुसन्धानको क्रममा नाता कायम हुने नक्कली काजजात खडा गरि विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरि तेस्रो व्यक्तिलाई अंगदानमा सहभागी गराएको निस्कर्ष निकालेको थियो ।

प्रहरीले प्रत्यारोपणका लागि अंग दिने व्यक्ति नै नक्कली नातेदार भएको भन्दै नाता प्रमाणित गर्ने, प्रत्यारोपणका लागि स्वीकृति दिने र प्रत्यारोपणमा सम्लग्न हुने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । त्यसमा चिकित्सक, वडा अध्यक्ष, जिल्ला प्रशासनका कर्मचारी, प्रहरी र कानूनी सल्लाहकार वकिलसम्म पक्राउ परेका छन् ।

को को परेका थिए पक्राउ ?
व्यूरोको अनुसार यो प्रक्ररणमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, मेडिकल कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले र कलेजका प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठ, कलेजमै कार्यरत डा बालकृष्ण कालाखेती र त्यसबेला प्रत्यारोपणमा सहभागी भएका नोवेल अस्पतालका डा राकेशकुमार बर्मा रहेका छन् ।

यस्तै भक्तपुर नगरपालिका ६ का जमुना राजभण्डारी, प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया रहेका छन् ।

यस्तै भक्तपुर जगाती बस्ने रेश्मा राई, ललितपुर म नपा वडा नं ३ का वडाअध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालिन खरिदार नवराज केसी र सोही कार्यालयका कार्यालय सहायक नवराज केसी रहेका छन् ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ – ग) को कसुरमा अनुसन्धान चलाउन लागिएको व्युरोको प्रवक्ता एवं पहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *