ह्याण्ड स्यानिटाइजर दर्ता गर्न म्याद थपेको प्रति औषधि उत्पादक संघको आपत्ति

काठमाडौँ, २५ असार । सरकारले ह्याण्ड स्यानिटाइजरको दर्ता गर्ने मिति तीन महिना थप गरेको प्रति नेपाल औषधि उत्पादक संघ (एपोन)ले आपत्ति जनाएको छ । उसले दर्ता मिति थप गर्ने निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिएको छ ।

गत २२ असारको स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट म्याथ थप गर्ने निर्णय भएको भन्दै औषधि व्यवस्था विभागले सोही दिन सूचना जारी गरेको थियो ।


एपोनको आज बसको आकस्मिक बैठकले म्याद थप गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । एपोनका पदाधिकारीहरुले आजै दिउसो विभाग पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

एपोनका महासचिव विप्लव अधिकारीले अहिले करीब ४० वटा स्वदेशी उद्योगले विभागमा दर्ता भई स्वदेशमा नै उत्पादन हुने इथानोलको प्रयोग गरि स्यानिटाइजर उत्पादन गरिरहेको र देशका लागि आत्मनिर्भर भइरहेको अवस्थामा म्याद थप गर्नु जरुरी नरहेको बताए । उनले ४० वटा उद्योगबाट १२० प्रकारका स्यानिटाइजर उत्पादन भइरहेको समेत जानकारी दिए ।

‘गुणस्तर सम्वन्धी सम्पूर्ण मापदण्ड पुरा गरी औषधि उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेको छ भने अब थप किन चाहियो ? अहिलेसम्म दर्ता नभएका र गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी कारवाहीमा परेकाहरुलाई मौका दिन खोजिएको त होइन ? यसले बास्तवमै जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको महसुस भएको छ,’  अधिकारीले भने ।

यता औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने एपोनले उठाएको मागका सम्वन्धमा आफूहरुको ध्यानाकर्षण भएको बताए । तर उनले प्रतिस्पर्धाबाट पछाडी हटन नहुने बताए ।

‘४० वटा उद्योगले दर्ता गरेका छन् । पहिले देखि नै उत्पादन गरिरहेका केही उद्योगहरुले विभागको मापदण्ड अनुसार तयारी हुन लकडाउनले अफ्टेरो परेको र केही समय थप गरिदिन आग्रह गरेपछि थप गरिएको बताए ।

‘हामीले विदेशी उद्योगका लागि होइन । स्वदेशकै पहिले देखि नै उत्पादन गरिरहेका उद्योगहरु हुन् । केहीले केही समय थपिदिनुहोस, हामीलाई समस्या पर्यो भनेपछि हामीले उहाँहरुको समस्या बुझेका हौँ । एपोनलाई यसले के असर गर्‍यो ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

एपोनले भने विभागको यो निर्णयले गुणस्तरहीन स्यानिटाइजरले प्रसय पाउने ठोकुवा गर्दै औषधिमा आत्मनिर्भर हुने सरकारको रणनीति काजगमै सिमिति हुने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *