भोटेकोशी बाढीमा परी पहिचान हुन नसकेका २२९ शव जमिन मुनि व्यवस्थापन गरिने

चितवन, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी चितवनमा संकलन गरिएका र पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका शव तथा शवका अवशेष सड्न–गल्न थालेपछि दुर्गन्ध फैलिएको र यसबाट संक्रमण तथा महामारीको जोखिम हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायपछि शव व्यवस्थापनको निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रशासनका अनुसार बाढीपछि जिल्लामा हालसम्म २३३ वटा शव संकलन भए पनि तीमध्ये चारवटा शवको पहिचान भइसकेको छ । बाँकी २२९ वटा शव अझै पहिचान हुन सकेका छैनन्।
जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरू जमिनमुनि गाडेर व्यवस्थापन गरिनेछ।
शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसपछि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिनेछ।
प्रशासनले बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णय गर्नुपरेको जनाउँदै शोकमा रहेका पीडित परिवारप्रति क्षमायाचना गरेको छ। साथै, शव व्यवस्थापनमा सहयोग, समन्वय र आवश्यक सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



