देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


काठमाडौँ, २२ असार । कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको गत वैशाख ६ र ७ गते रोकिएकोमा आज र भोलि दुई दिन चल्नेछ । करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए करिव २७ लाख ३ हजार ५२२ बालबालिका र जुकाको औषधि २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाइने उनले जानकारी दिए।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । कोभिड– १९ का कारणले बन्दाबन्दीले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो ।


सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैबीच स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखाको समन्वयमा ललितपुर महानगरपालिका वडा नं १५ सातदोवाटोस्थित नगर स्वास्थ्य कार्यालयमा बालबालिका भिटामिन ए र जुकाको औषधि खुवाइएको छ । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, पोषण शाखा प्रमुख केदार पराजुलीले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएका थिए । सो अवसरमा विभागका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलाल लगायतको सहभागिता थियो ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ ।

यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ । पोषण शाखा प्रमुख पराजुलीले आज नै १५ बहुसुक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिका समेत सोही कार्यक्रममा खुवाइने बताए ।

त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *