आईसीयूका लागि थप जनशक्ति तयार गर्दै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र

काठमाडौँ, १९ असार । भदौसम्ममा कारोना संक्रमितको संख्या ४० हजार पुग्न सक्ने अनुमान गरिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले विशेष तालिम दिएर आइसीयूमा काम गर्न थप जनशक्ति तयार गर्न थालेको छ ।

केन्द्रले पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढीका ४७ जना चिकित्सक तथा नर्सलाई भर्च्युल विधि (जुम)बाट आईसीयू सम्वन्धी तालिम दिएको हो । आउँदो २४, २५, २६ मा हेटौँडा, सिन्धुली र भक्तपुरका थप १६ जनालाई तालिम दिने तयारी गरेको केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरेले बताए ।

‘कोरोना संक्रमितको संख्या बढदो क्रममा छ । सरकारको अनुमान पनि आगामी भदौसम्म ४० हजार पुग्न सक्ने र त्यसमा ८ सय देखि २ हजारसम्म आइसीयूमा पुग्न सक्ने भनिएको छ । त्यो अवस्थामा आइसीयू सहित जनशक्तिको पनि आवश्यकता हुने भयो । त्यसैले हामीले धमाधम तालिम दिएर जनशक्ति तयार गर्दैछौँ,’ उनले भने ।

तालिम केन्द्रले जुम तालिम गर्नु एनेस्थेसियोलोजिष्ट, एमडीजीपी, तथा इन्टरनल मेडिसिन तर्फका गरी २२ जना विशेषज्ञ चिकित्सकलाई प्रशिक्षक तालिम दिएको थियो । उनीहरुले नै जुम विधिबाट विभिन्न प्रदेशका चिकित्सक तथा नर्सहरुलाई तालिम दिएका हुन् ।

‘विभिन्न मोडुलमा यो तालिम दिइएको छ । र प्रभावकारी भएको स्वयं चिकित्सक तथा नर्सहरुले बताएका छन् । त्यसैले हामीले यसलाई अझ विस्तार गर्ने योजनामा छौँ,’ डा घिमिरेले भने ।

क्वारेन्टाइनमा रहेका संगै पछिल्लो समय अस्पतालको आइसीयूमा रहेका व्यक्तिहरुमा समेत कोरोना संक्रमण देखिन थालेको छ ।

देशभर कोरोना संक्रमितको संख्या साढे १४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *