रोटा भाइरसबिरुद्धको खोप आजबाट शुरु

काठमाडौँ, १८ असार । सरकारले ५ बर्ष मुनिका बालबालिकालाई झाडापखला लगाउने प्रमुख कारक तत्व रोटाभाइरस बिरुद्धको खोप सञ्चालमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक सम्छिप्त कार्यक्रम गरी खोप सञ्चालनमा ल्याइएको जानकारी दिइयो ।

नियमित खोप कार्यक्रममा परेको यो खोप अब शिशु जन्मेको ६ हप्ता र १० हप्तामा गरी दुई पटक दिइन्छ । मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले यो खोप हरेक बर्ष जन्मने ६ लाख २० हजार बालबालिकालाई दिइने योजना रहेको सुनाए ।

‘खोप थोपाको रुपमा मुखबाट दिइने हो । एक बच्चालाई एक पटकमा १.५ मिलिलिटर दिइन्छ । यो खोप सञ्चालनका लागि द ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)को सहयोग छ,’ उनले भने । डा गौतमलले एक बच्चाले ५१६ रुपैयाँको खोप लगाउने समेत हिसाव सुनाए ।

नेपालमा बर्षेनी ११ देखि १२ लाख पाँच बर्ष मुनिका बालबालिकामा झाडा पखलाको समस्या देखिने गरेको छ । त्यसमध्ये ३८ देखि ४२ प्रतिशत कारण रोटा भाइरस भएको डा गौतमले बताए । ‘त्यसैले पनि सन् २०१२ मै राष्ट्रिय खोप सल्लाहकार समितिले नियमित खोप कार्यक्रममारोटा भाइरस विरुद्धको खोप राख्नुपर्छ भनि सिफारिस गरेको थियो । २०७५/७६ मा यो खोप नियमित कार्यक्रममा राख्ने भनेर मन्त्रीस्तरीय निर्णय नै भयो । र आज हामी त्यो निर्णय कार्यान्वयनमा ल्याउन सफल भएका छौं,’ उनले भने ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले शिशु तथा बालमृत्युदर न्युनिकरणका लागि रोटाभाइरस विरुद्धको खोप शुरु गरिएको बताए । ‘बालमृत्युदरको प्रमुख कारक झाडापखला र त्यसको प्रमुृख कारक रोटाभाइरस भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ । हामीले अवस्थालाई न्युनिकरण गर्नका लागि खोप शुरु गरेका हौँ ‘ उनले भने ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जटिल परिस्थितिका बावजुत सरकारले नयाँ खोप शुरु गरेको र यसले बालमृत्युदर घटाउन सहयोगी हुने बताए । उनले अब खोपलाई कसरी सस्टेनेवल फाइनान्सिङ गर्ने भन्ने बारेमा समेत तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा विश्व स्वाथ्य संगठन, युनिसेफ लगायतका अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । नेपालमा यसअघि नियमित खोप कार्यक्रममा ११ वटा खोप थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *