कोरोना संक्रमित एक जनाको पाटन अस्पतालमा मृत्यु

काठमाडौँ, ११ असार । कोरोना संक्रमित एक जना बिरामीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले संक्रमणपछि मृत्यु भएका व्यक्तिको झण्डै पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरेको बताए ।

मिर्गौला प्रत्यारोपणपछि फलोअपका लागि भन्दै ललितपुर बसोबास गरेका उनको दुई साता अघि स्वास्थ्यमा समस्या आएपछि भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा उपचारका लागि पुगेका थिए । भेन्टिलेटरको सपोर्ट चाहिने भएपछि उनलाई परिवारले नर्भिक अस्पताल ल्याएका थिए ।

नर्भिक अस्पतालले आइसोलेसनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ आएपछि पाटन रिफर गरिएको थियो । ‘नर्भिकबाट रिफर भएको केश हो । झण्डै एक साता पाटन अस्पतालको आइसीयूमा उपचार भयो । तर ज्यान बच्न सकेन,’ डा गेलालले भने ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २६ पुगेको छ । हिजो राती पोखरामा ५५ बर्षीय एक जना पुरुषको ज्यान गएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *