पाल्पामा एकै दिन थपिए ८२ जना कोरोना संक्रमित, पूर्वखोलाका मात्रै ८० जना

पाल्पा, ८ असार । पाल्पामा एकैदिन ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको पीसीआर परीक्षणमा पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए ।

पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार १३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको हो । उनले २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

आज संक्रमित देखिएकाहरुमा पूर्वखोला वडा नं १ का ३५ जना, पूर्वखोला ५ का २२ र ३ का २३ जना रहेका छन् । संक्रमितहरु २३ देखि ६५ उमेर समूहका महिला १५ जना र बाँकी पुरुषहरु रहेका छन् ।

संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

एकैपटक धेरै जनमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख ढकालले स्वास्थ्य अवस्था सबैको सामान्य भएका कारण संक्रमितहरुलाई छुट्टै क्वारेन्टिनमा राख्ने योजना रहेको सुनाए । पछिल्लो चौविस घण्टा देखि ठूलो पानी परेको, खोला बढेको र बाटो समेत पहिरो गएकोले व्यवस्थापनमा गाह्रो भएको उनले सुनाए ।

यसअघि पाल्पाको रम्भा गाउँपालिकामा १६ जना, वगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका १२ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुखले आजको संख्या सगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १७३ भएको बताए । त्यसमध्ये एक जनाको मृत्यु भएको र ४ जना उपचार पछि निको भएको समेत उनले स्पष्ट पारे । ‘अहिले जिल्लामा एक्टीभ केश १६८ रहेको छ,’ न्यौपानेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *