लाइसेन्स परीक्षाका लागि ‘कोइसन बैंक’ बनाउँदै मेडिकल काउन्सिल

काठमाडौँ, ४ असार । चिकित्सक लाईसेन्स परीक्षाको ‘मोडालिटी’ परिवर्तन गर्न लागेको नेपाल मेडिकल काउन्सिलले त्यसका लागि ‘कोइसन बैंक’ बनाउने भएको छ । काउन्सिलले तत्कालका लागि एक लाख बढी प्रश्नपत्र रहने गरी ‘कोइसन बैंक’ बनाउन लागेको हो ।

काउन्सिलले आगामी लाइसेन्स परीक्षा पूर्ण रुपमा कम्प्युटर विधिबाट शुरु गर्दैछ । त्यसका लागि पूल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानसंग सम्झौँता गरेको छ । यसअघि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा लिइदै आएको लाइसेन्स परीक्षा अब देखि पुल्चोकमा रहेको इन्जिनियरिङ अध्ययन् संस्थानबाट हुनेछ ।

‘हामीले अब कोइसन बैंक तयार गर्दैछौँ । त्यसबाट कम्प्युटरले नै प्रश्न झिक्छ, परीक्षार्थीले कम्प्युटरमै परीक्षा दिने व्यवस्था हुन्छ र जाँच समेत कम्प्युटरले नै गर्छ । अब देखि पुल्चोक इन्जिनियरिङ कलेजको परीक्षा हलमा नामदर्ता (लाइसेन्स) परीक्षा हुन्छ । यो काउन्सिलले गर्न लागेको यो नयाँ व्यवस्था हो,’ काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारीले भने ।

अहिलेसम्म हरेक परीक्षाका लागि उतिखेरै प्रश्नपत्र तयार गर्ने र परीक्षा लिने चलन थियो । ‘तर अब त्यो हुँदैन । एक लाख बढी प्रश्न तयारी गर्दैछौँ । त्यसलाई हामी कोइसन बैंक भन्दैछौँ । त्यसैबाट प्रश्न झिकिन्छ र परीक्षाका लागि उपलव्ध गराइन्छ,’ डा अधिकारीले भने ।

उनले पुल्चोकको परीक्षा हलमा कम्प्युटरमा परीक्षा दिने व्यवस्था मिलाएको हुँदा एक सिफ्टमा ४०० बढीको परीक्षा लिन नसकिने भएकोले परीक्षा दुई चार सिफ्टमा चल्ने समेत जानकारी दिए ।

लाइसेन्स परीक्षा दिन जाँदा काउन्सिलले अहिलेसम्म परिचय पत्रमा ल्याप्चे, फोटो र हस्ताक्षरको व्यवस्था गरेको थियो तर अब त्यसमा पनि कडाई गर्न लागेको छ ।

‘अब परिचय पत्र सहित परीक्षार्थीको १० वटै औलाको स्क्यानिङ हुन्छ । फोटो र हस्ताक्षर हुन्छ । अब रेटिनाको स्क्यान समेत गराउने योजनामा छौँ । यसले गलत व्यक्ति परीक्षामा सहभागी हुन रोकिन्छ भन्ने हाम्रो दावी छ,’ डा अधिकारीले भने ।

कोरोना महामारीका कारण यसअघि अन्तिम अवस्थामा परीक्षा स्थगित गरेको काउन्सिलले लकडाउन सहज भई सार्वजनिक यातायात खुल्ला भइसकेपछि मात्रै परीक्षा गर्ने योजनामा रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *