पाल्पामा आज थपिए १७ कोरोना संक्रमित, एक जना अस्पतालमा अरु क्वारेन्टाइनमा रहेका
पाल्पा, ३२ जेठ । पाल्पाका थप १७ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ । भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा एक महिला र १६ जना पुरुष गरी कुल १७ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।
आज संक्रमण देखिएकाहरु एक जना पाल्पा अस्पतालमा उपचाररत पुरुष हुन् । उनी बगनासकाली – ५, दलर्मडाँडाका स्थानीय भएको बताइएको छ । अरु बाँकी १६ जना भने रम्भा गाँउपालिका – १, हुँगीका रहेको बुझिएको छ ।
सो समूहमा एक जना महिला र बाँकी सबै पुरुष छन् । उनीहरु गत १५ र १६ जेठमा भारतको दिल्ली र मुम्बईबाट आएका स्थानीय जनकल्याण मावि क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको प्रदेश सांसद नारायण आचार्यले बताए ।
पीसीआर परीक्षण गर्नु अघि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो । आरडीटीमा पनि उनीहरु सबैको रिपोर्ट पोजेटिभ आएको थियो । ‘आरडीटी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षण गरायौँ सबैको रिपोर्ट पोजेटिभ आयो,’ सांसदआचार्यले भने ।
पाल्पामा आज थपिएका १७ सहित कुल कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ ।
सम्पर्क इमेल : [email protected]