कोरोना महामारीले निम्त्याएको क्वारेन्टाइन तथा ओझेलमा परेको मानसिक समस्या

आइतवारी चौधरी, एम.पि.एच

संक्रामक रोग लागेका व्यक्तिहरुको सम्पर्कमा आएका तथा संक्रामक रोग फैलिएको क्षेत्रबाट आएका हेर्दा स्वास्थ देखिने व्यक्तिहरुलाई निश्चित समयावधि भरी सो संक्रामक रोगका लक्षणहरु अनुगमन गर्नको लागि र समयमा रोग पहिचान गर्नको लागि मानिसहरुलाई अलग्गै राख्न बनाइएको ठाउँलाई क्वारेन्टाइन भनिन्छ । त्यस ठाउँबाट मानिसहरु बिना अनुमति बाहिरा हिडडुल गर्न पाउदेैनन् ।

बिगतका इतिहासलाई केलाएर हर्ने हो भने प्लेग रोगको महामारीबाट मानिसहरु तथा शहरहरुलाई बचाउन प्रयोग गरिएको थोरै तरिकाहरु मध्ये क्वारेन्टाइन पनि एक रहेछ । १४ औँ शताब्दीतिर जब पानीजहाजहरु इटलीको भेनिस बन्दरगाह आइ पुग्थे त्यति खेरा पानीजहाजहरु माल सामान ओराल्नुपूर्व र यात्रुहरु शहरमा प्रवेश गर्नु पुर्व ४० दिनसम्म बन्दरगाहमै रोकिएर बस्नु पर्थ्यो । पछि यो अभ्यासलाई नै क्वारेन्टाइन भनियो जुन इटलीयन शब्द ‘Quaranta girni’ बाट आएको हो । जसको अर्थ ४० दिन हो ।

बिस्तारै संक्रामक रोग सर्नबाट बचाउने जनस्वास्थ्यको उपायका रुपमा युरोप लगायत विश्वका अन्य मुलुकहरुमा क्वारेन्टाइनलाई प्रयोग गरिदै आएको देखिन्छ । अमेरिकामा Yellow Fever लगायत अन्य संक्रामक रोगहरु बढ्दै गएपछि सन् १८७८ मा राष्ट्रिय क्वारेन्टाइन विधेयक बन्यो । त्यस पछिका वर्षहरुमा विश्वमा हैजा लगायत अन्य संक्रामक रोगहरुलाई सम्बोधन गर्न क्वारेन्टाइन उपयुक्त तरिका महसुस हुँदै गयो ।

सन् २००३ सालतिर सार्स (SARS) महामारी फैलिदा त्यसबाट मानिसहरुलाई बचाउन तथा त्यसलाई नियन्त्रण गर्न प्रभावित शहर अनुुुसार चीन र क्यानडाका विभिन्न शहरहरुमा क्वारेन्टाइन बनाइयो । जबकी २०१४ सालतिर इबोला महामारी फैलिदा धेरै जसो पश्चिमी अफ्रिकन देशका गाँउ बस्तीहरुलाई क्वारेन्टाइनमा परिणत गरियो ।

चीनको वुहान शहरमा पहिलो पटक ३१ डिसेम्बर २०१९ मा देखिएको नोबल कोरोना भाइरस विश्वको धेरै मुलुकहरुमा फैलिदै गएपछि विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा नोबल कोरोना भाइरसलाई विश्व जनस्वास्थ्य संकटको रुपमा घोषणा गर्‍यो । हाल नेपाल लगायत यो भाइरसलाई परास्त गर्न विश्वका २०० भन्दा धेरै देशहरुमा क्वारेन्टाइनको व्यवस्था गरेर कोरोना भाइरसको सम्भावित सम्पर्कमा आएका व्यक्तिहरुलाई त्यहाँ १४ दिनसम्म राख्ने गरेको देखिन्छ ।

क्वारेन्टाइन समुदायमा संक्रामक रोगहरु फैलिनबाट बचाउन प्रयोग गरिने एउटा भरपर्दो जनस्वास्थ्य तरिका भए पनि विश्व स्वास्थ्य संगठनको परिभाषा अनुुसार यदि क्वारेन्टाइनमा राखिएका व्यक्ति तथा त्यहाँ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुको मानसिक स्वास्थ्यलाई ध्यान पुर्‍याउनु सकिएन भने उनीहरुको शारीरिक रुपमा स्वस्थ त देखिनु हुन्छ तर मानसिक रुपमा अस्वास्थ रहने सम्भावना प्रवल रहन्छ । यसरी अग्रपक्तिंमा काम गर्ने स्वास्थ्यकर्मी तथा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको मानसिक स्वास्थ्यलाई बेलैमा सम्बोधन गर्न सकिएन भने त्यसले अल्पकालिन तथा दीर्घकालिन मानसिक समस्या निम्त्याउने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

केही समय पहिला एउटा स्वास्थ्यकर्मी आफ्नो ड्युटीबाट कोठामा फर्किदा घरबेटीबाट अपहेलना खेपिएको समाचार हाम्रै अगाडी छ, एउटा स्वास्थ्यकर्मी कोरोनाको परिक्षणको लागि टेष्ट किट्स लिनलाई काठमाडौं जाने क्रममा बाटोमा भोगेको दुव्र्यवहारको समाचार हाम्रै अगाडी छ साथैं एउटा स्वास्थ्यकर्मी आज आफ्नो ड्युटीबाट फर्किदै गर्दा सुरक्षाकर्मीद्घारा कुटिएको समाचार पनि तपाईँ हामीले नसुनेको होइन ।

यस्तो विसम परिस्थितिमा पनि भोक, प्यास, दिन, रात, आफ्नो, पराई केही नसम्झी निरन्तर स्वास्थ्य सेवा प्रवाह गरेर कोठामा फर्किएपछि घरबेटीबाट अपहेलना खेपिदा होस अथवा ड्युटीबाट फर्किदै गर्दा सुरक्षाकर्मीद्वारा बाटोमा कुटिदा होस् या कोरोनाको काम विशेषले काठमाडौं जाँदै गर्दा बाटोमा अनावश्यक दुर्व्यहार पाउदा होस, के अहिलेको यो विश्वमा फैलिएका कोरोना महामारीविरुद्द अग्रपंक्तिमा रहेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरु उच्च मनोबल तथा सेवाभावका साथ सधैं सेवा प्रवाह गर्न उत्प्रेरित हुनुहुन्छ ? तपाईं हामी सजिलै अनुमान लगाउन सक्छौं, पक्कै पनि यो अवस्थामा उहाँहरु उच्च मनोबल तथा सेवा भावका साथ राम्रोसँग आफ्नो सेवा प्रवाह गर्न सक्नु हुन्न ।  यो समयमा उहाँहरुलाई माया चाहिएको छ, हौसला चाहिएको छ, तपाई हाम्रो साथ र सहयोग चाहिएको छ । छिःछिः, दुरदुर र अपहेलना होइन ।

यति भनिरहदा सबै मानिसहरु एकै नासका हुन्छन् भन्न खोजेको चाहीं पक्कै पनि होइन । यहाँ स्वास्थ्यकर्मीहरुलाई माया, हौसला तथा सहयोग गर्ने मनहरु पनि धेरै छन् । आज उहाँहरुको स्वास्थ्यकर्मी प्रतिको यिनै माया, हौसला तथा सहयोगले गर्दा कोरोना महामारीविरुद्द लड्न तथा स्वास्थ्य सेवा प्रवाह गर्न हाँसीखुशीले स्वास्थ्यकर्मीहरु अहोरात्र काममा खटिरहेका छन् ।

यस्तो माया, हौसला तथा सहयोग स्वास्थ्यकर्मीहरु यो कोरोना महामारीको समयमा मात्रै होइन, सधैंभरि आम नेपाली नागरिक तथा सम्बन्धि निकायबाट चाहन्छन् । त्यसैले स्वास्थ्यकर्मीहरुलाई करले होइन रहरले काम गर्ने वातावरण बनाउन सचेत नागरिक लगायत सम्बन्धित निकायले ध्यान दिनु जरुरि देखिन्छ । जसले उहाँहरुले सम्पादन गरेका कामहरुको प्रतिफल राम्रो आउन मद्धत गर्छ । जसको प्रत्येक्ष लाभ आम नागरिकहरुलाई नै हुन्छ ।

यद्यपी स्वास्थ्यकर्मीका केही मुद्दाहरु स्वास्थ्यकर्मी तथा बुद्घिजिबी विद्घान वर्गहरुको सामाजिक संजाल तथा अन्य माध्यमहरुद्घारा गरिएको निरन्तर दबाबका कारण सम्बोधन भएको देखिन्छ । त्यो साह्रै सह्रानीय कुरा हो । त्यसको लागि सम्बन्धित सबैलाई धेरै धेरै धन्यबाद हामी सबै स्वास्थ्यकर्मीहरुको तर्फबाट ।

तर फेरी फेरी त्यस्तो अनैतिक घटनाहरु नदोहोरियोस्, स्वास्थ्यकर्मीहरुको जायज माग समयमै पुरा होस् । त्यसतर्फ ध्यान दिनु जरुरी देखिन्छ । “रोग लागेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनु राम्रो हो ।” भन्ने भनाई जस्तै यस विषम परिस्थितीमा स्वास्थ्यकर्मीहरलाई गरिएको दुव्र्यवहारमा मलमपट्टी लगाउनु भन्दा त्यस्तो अवस्था नै आउन नदिन समयानुसार अग्रिम विभिन्न निति, नियम तथा निर्णयहरु सोच विचार गरि सम्बन्धित सबैलाई जानकारी प्रदान गर्दा राम्रो हुन्थ्यो होला ।

यी त भए हामीले अनलाइन पत्रपत्रिका तथा सामाजिक संजालमा प्रत्यक्ष देखेका र सुनेका केही उदाहरणहरु जसले स्वास्थ्यकर्मीहरुमा काम गर्ने उत्साह, जोस, जाँगर कम गर्न सक्छ । उहाँहरुलाई मानसिक समस्यातिर धकेलिन सक्छ । जसले गर्दा राष्ट्रले यो कोरोना महामारीको विपत्तिको समयमा सोचे अनुसार उहाँहरुको कामबाट राम्रो प्रतिफल नपाउन सक्छ ।

यस विषम परिस्थितीमा स्वास्थ्यकर्मीहरु जति तनाबमा रहेर सेवा पुर्‍याई रहेका छन् त्यतीकै तनाबमा रहेर क्वारेन्टाइनमा रहेका व्यक्तिहरु समय व्यतित गरिरहेका छन् । क्वारेन्टाइनमा बस्दा तनाब हुने डरले मान्छेहरु क्वारेन्टाइनमा बस्न नमानेर क्वारेन्टाइनबाटै भागेको समाचार नी हाम्रै अगाडी छ ।

अध्ययनले क्वारेन्टाइनमा दश दिन भन्दा कम समयसम्म बसेका व्यक्तिहरुको तुलनामा दस दिन भन्दा धेरै दिन बसेका व्यक्तिहरुलाई चिन्ता जस्ता मानसिक समस्या बढि भएको देखाएको छ ।

त्यस्तै क्वारेन्टाइनमा घर परिवार तथा साथीभाईहरुबाट अलग्गै बस्नु पर्दा, दैनिक कार्य सम्पादन गर्न नपाउँदा, आधारभुत आपूर्तिहरु जस्तै खाना, पानी, बासस्थान प्रयाप्त नहुदा, क्वारेन्टाइनमा आफूलाई किन राखिएको ? क्वारेन्टाइनमा बस्दा के गर्न पाउने ? के गर्न नपाउने ? जस्ता ज्ञान स्पष्ट नहुँदा र आफूलाई संक्रमण देखिएला कि भन्ने डरले गर्दा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई विभिन्न किसिमका मानसिक समस्याहरु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

यसरी क्वारेन्टाइन र मानसिक समस्याहरुलाई जोडिएर गरिएका विभिन्न अध्ययनहरुलाई सरसर्ति केलाएर हेर्दा क्वारेन्टाइनमा सेवा पु¥याउने स्वास्थ्यकर्मीहरुलाई मात्रै नभै त्यहाँ राखिएका व्यक्तिहरुलाई पनि मानसिक समस्याहरुले सताएको देखिन्छ । तर पनि ति मानसिक समस्याहरुलाई यति बेला खासै सम्बोधन गरिएको देखिदैन । त्यस कारण ति मानसिक समस्याहरुलाई कम गर्न स्वास्थ्यकर्मी लगाएत त्यहाँ राखिएका व्यक्तिहरुलाई पनि सम्बोधन हुने गरि विभिन्न किसिमका रणनितिहरु बनाएर एकिकृत रुपमा लागु गर्दा प्रभावकारी हुन्छ । ति उपायहरुलाई यहाँ तिन भागमा विभाजन गरि व्याख्या गरिएको छ ।

(क) व्यक्तिगत स्तरमा गर्न सकिने उपायहरु
१. क्वारेन्टाइनमा सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी तथा नेपाल सरकारबाट गरिएका निर्देशनहरु पुर्णरुपमा पालना गर्ने ।
२.आफूलाई कुनै स्वास्थ्य समस्या तथा जिज्ञासा भए तुरुन्तै त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुसँग कुरा गरेर समाधान गर्ने ।
३. आफूलाई मन पर्ने गित सुनेर, फिल्म हेरेर, किताब पढेर तथा मन परेका कुराहरु लेखेर समयको सदुपयोग गर्ने ।
४. सामाजिक संजाललाई विवेकपूर्ण तरिकाले प्रयोग गर्ने । कोरोनासँग सम्बन्धित सुचनाहरुको विश्वासिलो स्रोत जस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन आदि बाट प्रकासित सुचनाहरु हेर्ने । सकिन्छ भने दिनमा एक वा दुई पटक मात्र त्यस्ता सुचनाहरु हेर्ने ।
५. आफ्नो क्वारेन्टाइनको बसाई तथा भोगाइको बारेमा साथीभाई तथ आफन्तहरुसँग फोन मार्फत सम्पर्कमा रहिरहने । उहाँहरुको सहयोग, सान्त्वना तथा प्रोत्साहनले केही हदसम्म मनमा शान्ति पैदा गर्न मदत गर्छ ।
६. सामाजिक संजालमा अनावश्यक चिजहरु लेखेर पोष्ट गर्नु भन्दा क्वारेन्टाइनको बसाई बारे आफ्नो सुखद खबरहरु लेख्ने जसले गर्दा क्वारेन्टाइनमा रहेका अरुहरुलाई कोरोनासँग लड्न बल पु¥याउँछ ।

७. राती अबेरसम्म सामाजिक संजालमा नभुल्ने । प्रयाप्त मात्रामा सुत्ने । यदि राति निन्द्र लागेन भने आफ्नो मनलाई भुलाउन मन मनै गिन्ती गन्ने जसले गर्दा मनमा अनावश्यक कुराहरु खेल्न पाउँदैन र गिन्ती गन्दा गन्दै सजिलै निन्द्र पर्छ ।
८. नियमित रुपमा शारिरिक व्यायम गर्ने जसले शरिर स्वास्थ र फुर्तिलो बनाउन सहयोग गर्छ ।
९. तपाई हामी एक छिन बिचार गरौ त हामी जे सोच्छौं त्यहीं गर्छौ, जे गर्छौ त्यस्तै बन्छौ । त्यसैले सकारात्मक सोचहरु मात्रै मनमा राख्ने जस्तैः

  • क्वारेन्टाइनको मेरो बसाई केही समयको लागि मात्रै हो । यो मेरो लागि २ हप्तासम्म आराम गर्नको लागि छुट्याइएको समय हो ।
  • मैले कोरोनाबाट लड्नको लागि आफ्नो सामाजिक जिम्मेवारी पुरा गरेको छु ।
  • म एक सच्चा, देशभक्त नेपाली नागरिकको हिसाबले क्वारेन्टाइनमा बसेर कोरोना महामरीसँग लड्नको लागि देशलाई सहयोग गरिरहेको छु ।
  • राज्यले कोरोनाबाट लड्नको लागि मलाई २ हप्तासम्म क्वारेन्टाइनमा राख्दा मैले आफ्नो तर्फबाट राज्यलाई पु¥याएको यो अमुल्य योगदान हो ।
  • क्वारेन्टाइनलाई एक सुधार गृहको रुपमा सम्झिने जहाँ स्वास्थ्यकर्मीहरु कोरोनालाई परास्त गर्न दिनरात सम्पर्कमै रहेका हुन्छन् ।
  • म मात्रै एक्लो छैन, म जस्तै नेपाल लगाएत संसारको धेरै देशहरुमा मानिसहरु क्वारेन्टाइमा बसिरहेका छन् ।
  • यदि मेरो क्वारेन्टाइनको बसाईसँगै परिक्षणको क्रममा कोरोना रोग देखि हाले पनि कमसेकम घरपरिवार तथा समुदाय त सुरक्षित होलान् ।
  • कुनै पनि समस्या सधैंभरी स्थायी रुपमा रहिरहदैन । जसरी रात पछि दिन आउँछ त्यसरी नै यो कोरोना महामारी सधैं भरी रहदैन । एक दिन हराएर जान्छ सम्झिने ।

(ख) सामाजिक स्तरमा गर्न सकिने उपायहरु :
१. क्वारेन्टाइमा रहेका, त्यहाँबाट डिस्चार्ज भएका र त्यहाँ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुलाई समाजमा हेला, छुवाछुट तथा उहाँहरुको मनमा ठेस पु¥याउँने दृष्टिकोणले नहेर्ने र त्यस्तो व्यवहार नगर्ने ।
२. कोरोना महामारीलाई परास्त गर्न आफ्नो–आफ्नो स्थानीय तह सँग मिलेर आफूले गर्न सक्ने विभिन्न किसिमका सहयोगहरु गर्ने । जस्तै : क्वारेन्टाइनमा गुणस्तरी खाद्यन्न पु¥याएर, स्वास्थ्यकर्मीहरुलाई पि.पि.ई. पु¥याएर, क्वारेन्टाइनमा भएका सकरान्मक कुराहरु सामाजिक संजालमा फैलाएर
३. नियम पूर्वक क्वारेन्टाइनको बसाई अवधि पुरा गरी फर्केका व्यक्तिहरुलाई सामाजिक सम्मान गरेर ।

(ग) राष्ट्रिय स्तरमा गर्न सकिने उपायहरु
१. संक्रमण रोकथामको लागि कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड अनुसार सबै क्वारेन्टाइनहरु भए नभएको सुनिश्चित गरि नभएकोलाई व्यवस्थित गर्ने ।
२. क्वारेन्टाइनमा सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मी तथा त्यहाँ राखिएका व्यक्तिहरु बिच संक्रमण रोकथाम गर्न प्रत्येक स्वारेन्टाइनमा प्रयाप्त मात्रामा पि.पि.ई. भएको सुनिश्चितता गरिरहने ।
३. क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको स्वास्थ्य बिमा गर्ने ।
४. कोरोना महामारी पछि देशमा वेरोजगारि न्यून गर्न र विभिन्न देशबाट आएका नेपालिदाजुभाई तथा दिदिबहिनीहरुलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन रोजगारि तथा लगानिका अवसरहरु श्रृजना गर्ने ।
५. सबै ठाउँको क्वारेन्टाइनमा गुणस्तरिय र स्वस्थ खाना तथा पानीको सुनिश्चितता गरिरहने ।
६. स्वास्थ्यकर्मीहरुलाई निवार्ध रुपमा काम गर्नलाई उहाँहरुमाथि कुनै दुव्र्यवहार नहोस् भन्नको लागि अग्रिम विभिन्न निति, नियम तथा निर्णयहरु गरेर सम्बन्धित सबैलाई सचेत गराउने ।
७. सामाजिक संजालमा अपुष्ट समाचार लेख्ने अनलाइन पत्रपत्रिका तथा व्यक्तिहरुलाई ऐन अनुसार कारबाही गर्ने ।
८. बाँकेको नेपालगंजको महेन्द्र बहुमुखि क्याम्पसमा बनाएको क्वारेन्टाइनेले शुरु गरेको योगा प्रणायम जस्तै देशभरका क्वारेन्टाइनहरुमा सो सेवा विस्तार गर्ने ।
९. बझाङको थलरा गाउँपालिका वडा नं. २ मा पर्ने सारदा उ.मा.वि. को क्वारेन्टाइनमा राखिएका युवाहरुले त्यस उ.मा.वि. को प्राङ्गण वरिपरि पर्खाल लगाएजस्तै देशका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई विभिन्न श्रृजनात्मक कामहरुमा लगाउ उत्प्रेरित गर्ने ।
१०. प्रत्येक क्वारेन्टाइनमा सकारात्मक उर्जा प्रदान गर्न अडियो भिडियोको व्यस्थापन गर्ने ।
११. अनलाईन या फोन मार्फत प्रत्येक्ष मनोपरामर्शकर्ता सँग प्रत्येक क्वारेन्टाइनमा रहेका व्यक्तिहरु तथा स्वास्थ्यकर्मीहरुको कुरा राख्ने व्यवस्था मिलाउने ।
१२. क्वारेन्टाइनको बसाई अवधि बैज्ञानिक तवरले कसरि कम गर्न सकिन्छ, त्यता तिर नि ध्यान पु¥याउने । जस्तो
भारत लगाएत स्वदेशकै विभिन्न क्वारेन्टाइनमा केही समय बिताएका व्यक्तिहरुलाई विभिन्न कारणले पुनः अर्को क्वारेन्टाइनमा सार्दा पुरै १४ दिन नबसाउने, परिक्षण गरेर अथवा कडा निगरानिका साथ सम्भव भएसम्म एक हप्ता होम क्वारेन्टाइनमा बस्न लगाउने ।

माथि सिफारिस गरिएका कतिपय विधिहरु संक्रमण रोकथामको लागि कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा उल्लेख गरिएको देखिन्छ तर सबै क्वारेन्टाइनमा लागु भएको देखिदैन । ति मापदण्डहरु कागजको खोस्तामा मात्रै सिमित राख्नको लागि बनाइएको होइन । त्यसैले आउनुस् सबै मिलि हातेमालो गरि आफ्ने–आफ्नो ठाउँमा माथिका विधिहरु लागु गरौं र लागु गराउन सम्बन्धित निकायलाई सहयोग गरौं जसले तपाई हाम्रो आत्माबल बलियो भई नोबेल कोरोना भाइरससँग लड्न सहयोग गर्छ र केही हद सम्म भए नि मानसिक समस्या कम गर्न मद्यत गर्छ । देशको आवश्यकता स्वस्थ नेपाली, समृद्ध नेपाल ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *