पीपीई लगाएर स्वाब लिन गएका प्रहरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ, २४ जेठ । पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगाई सम्भावित कोरोना संक्रमितको स्वाब लिन गएका नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा कार्यरत एक जना प्रहरी (प्राविधिक तर्फ)मा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ संक्रमितको विवरणमा काठमाडौँ र भक्तपुरका गरी पाँच जनामा कोरोना संक्रमण देखिएको बताएको थियो ।

त्यसमध्येका एक हुन् महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा कार्यरत प्राविधिक तर्फका प्रहरी नायव निरीक्षक (सई) ।

केही दिन अघि कालिमाटी बृत्तका प्रहरीमा संक्रमण देखिएको भनेपछि अन्य सम्भावित संक्रमितको खोजी गर्न स्वाब संकलन गर्न गएका थिए ।

‘उहाँ स्वाब संकलन गर्न गएको हो । तर पीपीई लगाएरै गएको हो । के भएछ कुन्नि संक्रमण देखियो,’ प्रहरी अस्पतालका प्रमुख एआईजी डा आशा सिंहले भनिन् ।

उनले उक्त अस्पतालबाट डिस्चार्ज भएका र एक जना उपचाररतमा समेत कोरोना संक्रमण भएको बताइन ।

‘एक जना हामीकहाँ डायलासिस गराईरहेका प्रहरी जवान हुन्, अर्को उपचार पछि डिस्चार्ज भएकी महिला हुन् । जो प्रहरी हवल्दारकी श्रीमती हुन्,’ डा सिंहले भनिन् ।

उनले संक्रमितमध्ये डायलासिस गराउनुपर्ने प्रहरी जवानलाई त्रिवि शिक्षण अस्पतालको कोडिभ १९ उपचार केन्द्र र बाँकी दुई जनालाई बलम्बुस्थित कोभिड १९ युनिफाइड अस्पतालमा पठाइएको बताइन ।

निसंक्रमण गर्न अस्पताल सिल

उपचाररत र कार्यरतमा कोरोना संक्रमण देखिएपछि प्रहरी अस्पताल सिल भएको छ । निसंक्रमणको लागि भन्दै कम्तिमा दुई दिनसम्मका लागि अस्पताल सिल गरेको प्रमुख डा सिंहले भनिन् ।

उनले भनिन्, ‘निसंक्रमण गर्नुपर्ने भएकाले डायालासिस युनिट, आइसोलेसन, इन्टरनल मेडिसिन डिपार्टमेन्ट, आकस्मिक, प्रयोगशाला लगायतका विभागहरुमा सिल गरेका छौँ । ओपिडी र अरु बिरामी पनि नलिने निर्णय गरेका छौँ । कम्तीमा दुई दिनका लागि यो निर्णयका गरेका हौँ ।’

उनले उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी गरी ३५ भन्दा बढी क्वारेन्टाइनमा राखिएको बताइन । ‘संक्रमण नफैलियोस भन्नका क्वारेन्टाइनमा जानुको विकल्प छैन्,’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *