स्वदेशमै इन्टर्नशीप गर्न पाउँ भन्ने मेडिकल विद्यार्थीको माग काउन्सिलद्धारा अस्विकार

काठमाडौँ, २१ जेठ । विदेशका मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले स्वदेशकै मेडिकल कलेजमा इन्टर्नशीप तथा रेजिडेन्सी गर्न पाउँ भन्ने मागलाई नेपाल मेडिकल काउन्सिलले अस्विकार गरेको छ ।

मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले विदेशमा अध्ययन गरेका विद्यार्थीले सम्वन्धित देशमै अध्ययन तथा प्रयोगात्मक अभ्यास गर्नुपर्ने पुरानै व्यवस्थामा अडिग रहँदै विद्यार्थीको माग अस्विकार गरेको हो ।

कोरोना भाइरस (कोभिड – १९)को महामारीको कारण देखाउँदै नेपाली विद्यार्थीहरुले इन्टर्नशीप र रेजिडेन्सी कार्यक्रम नेपालकै मेडिकल कलेज तथा प्रतिष्ठानमा गर्न पाउनुपर्ने माग गरेका थिए । उनीहरुले कोभिड – १९ को महामारीका कारण विशेष परिस्थितिमा स्वदेश फर्किएको र फर्किदै गरेको तथा विदेशमा तत्कालै फर्किने अवस्था नहुँदा आफ्नो शैक्षिक कार्यक्रम अस्तव्यस्त हुन लागेको भन्दै नेपालमै इन्टर्नशीप गर्न पाउनुपर्ने माग राखेका थिए ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विदेशमा अध्ययन गर्नेहरुले स्वदेशमा आएर प्राक्टिस गर्ने नियम नभएको र त्यो अहिले सम्भव समेत नहुने भन्दै बोर्डले विद्यार्थीहरुको आग्रहलाई अस्विकार गरेको बताए ।

‘अहिलेको कोभिड -१९को महामारीबाट सिर्जित समस्या विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि मात्रै होइन । यो त विश्वव्यापी समस्या हो । र अहिले नेपालमा त्यसरी विद्यार्थी ल्याएर प्रयोगात्मक सिकाई गर्न मिल्ने र सक्ने अवस्था पनि छैन् । त्यसैले पूर्ववत रुपमा विद्यार्थीहरुले जहाँ पढेको हो त्यहिबाट इन्टर्नशीप र रेजिडेन्सी सकेर आउनु पर्छ, डा अधिकारीले भने ।

काउन्सिलले पूर्ण बैठक डाक्नु अघि गत आइतबार पूर्व अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न विश्वविद्यालय अन्तरगर्तका मेडिकल अध्ययन गराउने संस्थान तथा प्रतिष्ठानका डीनहरुसंग विदेशमा अध्ययन गरेका विद्यार्थीहरुको मागका विषयमा छलफल गरेको थियो । सो बैठकले पनि विदेशमा अध्ययन गरेका विद्यार्थीलाई स्वदेशमा प्रयोगात्मक अभ्यासका लागि छुट दिन नहुने सुझाव दिएको थियो ।

मंगलबारको काउन्सिलको बैठकको निर्णय सोही सुझावलाई समेत समेटेर आएको बताइएको छ ।

नेपालमा सन् २००८ अघिसम्म विदेश गएर अध्ययन गर्नेले स्वदेश फर्किएर इन्टर्नशीप र रेसिडेन्सी कार्यक्रममा सहभागी हुन पाउँथे । त्यसपछि भने विदेश अध्ययन गर्न जानेले सबै कोर्ष तथा प्रयोगात्मक अभ्यास सम्वन्धीत कलेजमै पुरा गरेर मात्रै आउनु पर्ने व्यवस्था छ ।

विदेशका मेडिकल कलेजमा पछिल्ला बर्षहरुमा एमबीबीएस तर्फ करीब ७०० र पीजी तर्फ करीब ४०० नेपाली विद्यार्थीहरु अध्ययन् गर्न जाने गरेको पाइएको छ । नेपाली विद्यार्थीहरु सबैभन्दा बढी बंगलादेश र चीनका मेडिकल कलेजमा जाने गर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *