पाल्पामा पनि देखियो कोरोना संक्रमण, तीन जना संक्रमित

पाल्पा, १८ जेठ । पाल्पामा पनि कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका तीन जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु दुई जना रैनादेवी छहरा गाँउपालिका स्थित नमूना मावि क्वारेन्टाइनमा रहेका र एक जना माथागढी गाँउपालिकाको रहेको बताइएको छ ।

संक्रमित तीन जनालाई तानसेनमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

प्रदेश नं ५ कोरोना भाइरसबाट अति प्रभावित भएपनि पाल्पामा अहिलेसम्म संक्रमण देखिएको थिएन । पछिल्लो समय पाल्पामा पनि भारतबाट आउनेको संख्या ठूलो छ । यसले संक्रमण थपिनसक्ने अनुमान गरिएको छ ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीका दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले आज पाल्पाका तीन र रुपन्देहीका दुई गरी कुल पाँच जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *