काठमाडौँमा रहेका ५०० हुम्लीलाई पीसीआर परीक्षण गरेर घर फर्काउँदै सांसद छक्कबहादुर

काठमाडौँ, १६ जेठ । काठमाडौँमा रहेका ५०० जना हुम्लाबासी (हुम्ली)को पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड – १९) परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

लम्बिदो लकडाउनपछि घर फर्कन चाहेका उनीहरुको बिहीबार पीसीआर परीक्षणका लागि नमूना संकलन गरिएको हो । हुम्लाका सांसद छक्कबहादुर लामा र हुम्लाकै स्थानीय एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलको पहलमा काठमाडौँमा बसोबास गरेका हुम्लीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

कोरोना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि हवाईजहाज चार्टर गरी उनीहरुलाई हुम्ला पठाउने सांसद लामाको योजना छ ।

बौद्धमा रहेको नाम्ख्युङ हुम्ला समाजको कार्यालय हलमा जम्मा भएका हुम्लीहरुको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाबाट खटिएका स्वास्थ्यकर्मीहरुले नमूना संकलन गरेका थिए ।

नमूना संकलन कार्यको समन्वय गरेका प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले ५०० जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि टेकु पठाएको बताए । उनले रिपोर्ट तीन दिन भित्रमा आउने र त्यसपछि हुम्लीहरुलाई गाँउ फर्काउने प्रक्रिया अघि बढ्ने बताए ।

अस्पतालका निर्देशक डा रावलले कोरोनाको सम्भावित खतराबाट जोगाउनका लागि माननीय लामाको पहलमा भएको यो कार्य उदाहरणीय भएको बताए । उनले भने, ‘कतिपय जिल्लाले बाहिरबाट आउनेहरुलाई सहजै रुपमा प्रवेश दिइरहेको भन्ने पनि सुनेका छौँ तर त्यसो गर्नु आत्मघाती हुन्छ । त्यसैले हुम्लाले पीसीआर पछि मात्रै जिल्ला प्रवेश गराउने निर्णय लियो । यो कोरोना महामारीविरुद्ध चालिएको सबैभन्दा सुरक्षित कदम हो ।’

प्रशासकीय अधिकृत भण्डारीले पीसीआर परीक्षणका लागि १०० थान भिटिएम स्वास्थ्य सेवा विभागले उपलव्ध गराएको र बाँकी सांसद लामाले आफ्नै स्रोतबाट जुटाएको बताए ।

उनले परीक्षणका लागि भिटिएम नपुगेर अझै केही हुम्ली छुटेको भन्दै तिनको परीक्षण गर्ने व्यवस्थाको लागि थप पहल भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *