स्वास्थ्य मन्त्री र सचिव सहित मन्त्रालयका सय बढीको कोरोना परीक्षण हुँदै

काठमाडौँ, ११ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिव सहित एक सय बढी कर्मचारीकोे कोरोना भाइरस (कोभिड – १९) परीक्षण गराउने भएको छ ।

मन्त्रालयको बैठकमा सहभागी एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मन्त्री, राज्यमन्त्री सचिव सहित एक सय बढी कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

गत ६ जेठमा कोरोना संक्रमण देखिएका एक जना चिकित्सक ५ जेठमा मन्त्रालयकै हेल्थ इमरजेन्सी अपरेसन सेन्टरमा आयोजित बैठकमा सहभागी थिए । सो बैठकमा १५ २० जना सहभागी भएपनि सेकेन्डरी कन्ट्याक्टमा रहेकाहरुले पनि परीक्षण गर्न माग गरेपछि संख्या बढेको हो ।

‘आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सचिव यादव कोइराला, प्रमुख विशेषज्ञद्धय डा रोशन पोखरेल, डा दिपेन्द्ररमण सिंह सहित मन्त्रालय आउजाउ गरेका सबैको परीक्षण गर्ने कुरा भएको छ । संख्या एक सयको वरपर होला,’ कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले भने ।

संक्रमणका परेका चिकित्सक ५ जेठमा मन्त्रालयमा आएको र भाइरस सरेको भएपनि एक साता पछि देखिन सक्ने भएकोले आज परीक्षणको व्यवस्था गर्न लागिएको उनले बताए ।

५ जेठको बैठकमा कोरोना इन्सीडेन्ट कमाण्ड सिस्टमका इन्चार्ज डा गुणराज लोहनी सहितको टीम बसेको थियो । एचईओसीको हलमा बैठक भएपनि त्यसपछि सबै पूर्ववत रुपमा मन्त्रालय फर्किएर काम र भेटघाट गरेपछि जोखिम सबैमा रहेको भन्दै एक चरणमा सबैको परीक्षण गर्न लागिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *