मनमोहनमा उपचाररत बिरामीलाई कोरोना देखिएपछि गणेशमान भवनमा सारियो


काठमाडौँ, १० जेठ । महाराजगञ्जस्थित मोनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक जना बिरामीमा कोरोना संक्रमण भएपछि अस्पतालको मुटुरोग सेवा स्थगित भएको छ । उनको सम्पर्कमा डाक्टर नर्स तथा अन्य कर्मचारी गरी ३ दर्जन बढीलाई क्वारेन्टिनमा राख्ने तयारी भएको छ ।

मुटुको उपचारका लागि भर्ना भएकी हेटौडाकी ५४ बर्षीया महिलाको कोरोना परीक्षण गर्दा शुक्रबार बेलुका नतिजा पोजेटिभ आएको थियो ।
सेन्टरका अधिकांश मुटुरोग विशेषज्ञहरु बिरामी महिलासँग प्राइमरी कन्ट्रयांकमा रहेको घोषणा गरेपछि मुटुरोग सेवा स्थगित भएको हो । केही दिन सेन्टरले मुटुरोगको ओपिडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने तयारी गरेको छ ।

संक्रमित महिलालाई भने अहिले त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा बनाइएको कोरोना आइसोलेसन सेन्टरमा सारिईसकेको छ ।
सेन्टरका कोभिड संयोजक डा रञ्जन सापकोटाले अहिले संक्रमित महिलालाई त्रिवि शिक्षण अस्पतालको आइसोलेसन तर्फ सारिईसकेको र उनको सम्पर्कमा भएका चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको बताए । ‘हामीले प्राइमरी र सेकेन्डरी कन्ट्याक्ट को को पर्नु भएको छ भनेर ट्रेसिङ गर्दैछौँ । अहिले ३० ४० जना देखिएको छ । यसमा केही थपिन पनि सक्नुहुन्छ । अन्तिम संख्या अहिले आइसकेको छैन्,’ उनले  भने।

उनले संक्रमित महिला रहेको सीसीयूमा अन्य छ जना विरामी समेत रहेकोले उनीहरुलाई कोभिड क्वारेन्टाइनमा लैजाने वा डिस्चार्ज गरी सेल्फ क्वारेन्टाइनमा पठाउने भन्ने बारेमा समेत छलफल भइरहेको बताए ।

सेन्टरले प्राइमरी कन्ट्याक्टमा रहेका केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अस्पतालको सबैभन्दा माथिल्लो तल्लामा रहने व्यवस्था मिलाइएको छ । तर त्यहाँ सबै नअटने भएकाले त्रिविकै अन्य ठाँउमा वा होटलमा बस्ने व्यवस्था मिलाउन खोजिएको छ ।

डा सापकोटाले संक्रमित विरामीको अवस्था स्थिर भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *