काठमाडौँका संक्रमित ग्राण्डी अस्पतालमा उपचाररत व्यक्ति
काठमाडौँ, १० जेठ । कोरोना भाइरसको संक्रमणमा परेका भनिएका काठमाडौँका ३५ बर्षिय पुरुष धापासीस्थि ग्राण्डी अस्पतालमा उपचाररत भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गरे । तर अरु बाँकी विवरण आइनसकेको उनले बताए ।
ग्राण्डी अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले भने बिरामीको बारेमा बताउँन चाहेनन् ।
उनले भने, ‘यो बारेमा विस्तृत जानकारी आइसकेको छैन् । मैले पनि बुझ्नै पर्छ । तर सुने अनुसार संक्रमित भनिएका व्यक्ति स्वस्थ छन् । रेन्डम्ली चेकअप गर्दा यस्तो आएको हो । हामीले पुन परीक्षण गराउनेकी भन्ने सोचेका छौँ ।’
उनले विस्तृत विवरण नदिएपनि उनी कोरोना परीक्षण कार्यमा स्वयंसेवकको रुपमा खटिएको व्यक्ति हो भन्ने संकेत गरे । ‘अरुको परीक्षणमा सहभागी हुनुभएको थियो । स्वयंसेवकको रुपमा र आफ्नो पनि परीक्षण गरौँ न त भनेर दिँदा रिपोर्ट पोजेटिभ आएको भन्ने सुनेको छु । तै पनि फेरी जानकारी लिनु नै पर्ने हुन्छ । अहिले एकीन भन्न सक्दिन्’ डा पाण्डेले भने ।
डा पाण्डेले संक्रमित व्यक्तिलाई सरकारी नीति अनुसार नै सरकारले तोकेको अस्पतालमा पठाउनुपर्ने भएकोले एकीन हुनासाथ थप कदम चाल्ने बताए ।
हिजो मात्रै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचाररत विरामीमा संक्रमण भएको थियो ।
नेपालमा अहिलेसम्म ५४८ जनामा कोरोना संक्रमण देखिएको छ । ७० जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ ।
सम्पर्क इमेल : [email protected]