तौलिहवा अस्पतालकी नर्स कोरोना संक्रमणमुक्त
कपिलवस्तु ७ जेठ । तौलिहवा अस्पतालमा कार्यरत नर्स कोरोना संक्रमणमुक्त भएकी छन् । पछिल्लो दुईपटक लिइएको नतिजाको रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएकी हुन् ।
यद्धपी अस्पतालले १४ दिनसम्म अस्पतालकै आइसोलेसनमा राख्ने निर्णय गरेको छ । ती नर्समा गत ३० बैशाखमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी कोरोना संक्रमणमा पर्ने नेपालकै पहिलो नर्स थिइन् ।
अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लले ४ र ६ जेठमा आएको परीक्षण रिपोर्टमा कोभिड १९ नेगेटिभ देखिएको बताए । उनले विश्व स्वास्थ्य संगठन (डव्लुएचओे)को मापदण्ड अनुसार नेगेटिभ आएपनि १४ दिनसम्म आइसोलेसनमा राख्ने निर्णय भएको जानकारी दिए ।
अस्पतालको ओपीडी आजबाट सञ्चालनमा
नर्सको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आजबाट ओपिडी सञ्चालनमा ल्याएको छ । शुुक्लका अनुसार अस्पतालले दैनिक ४० जना विरामी हेर्ने गरी ओपिडी सञ्चालनमा ल्याएको छ ।
यसअघि नर्समा पोजेटिभ देखिँदा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्स गरी ७० जना अस्पतालकै क्वारेन्टाइनमा रहेका थिए ।
‘एक जनामा पोजेटिभ देखिएपछि अस्पताल बन्द भयो । हामी ७० जना क्वारेन्टाइनमा रहयौँ । सबैको पीसीआर परीक्षण गरायौँ । नेगेटिभ आएपछि ढुक्क भयौँ । तर हिजो नर्सको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि हामीले आजबाट काममा फर्कियौँ र ओपीडी शुरु गरयौँ,’ उनले भने ।
तौलिहवा अस्पतालमा अरु बेला दैनिक औषत २०० विरामी ओपिडीमा आउने गरेका थिए ।
सम्पर्क इमेल : [email protected]