देश लकडाउनमा रहेको बेला नर्सिङ काउन्सिलले जारी गर्‍यो लाइसेन्स परीक्षा तालिका

काठमाडौँ, ६ जेठ । देशमा लकडाउन जारी रहेकै बेला नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाको तालिका सार्वजनिक गर्दै फारम भर्न आवहान गरेको छ । तर काउन्सिल आफैले यसअघि २४ फागुन लिएको २४ औँ लाइसेन्स परीक्षामा उत्तीर्ण नर्सहरुलाई प्रमाणपत्र उपलव्ध गराउन सकेको छैन् ।

काउन्सिलको २५ औँ तथा २०७७ सालको पहिलो नाम दर्ता (लाइसेन्स) परीक्षा २० असारका लागि तोकिएको भन्दै २ जेठको गोरखापत्रमा फारम भर्न आवह्रान सहितको ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गरिएको छ । बन्दाबन्दीको बेलामा यस्तो सूचना प्रकाशित भएको थाह पाएपछि गाँउपुगेका कतिपय विद्यार्थीहरु आत्तिएका छन् ।

‘फारम अनलाइन भर्न भनिएको छ । तर हामी गाँउमा छौँ । कलेजबाट कतिपय डकुमेन्टहरु चाहिन्छ त्यो पनि पाइसकेका छैनौँ । सबै विद्यार्थीको गाँउमा अनलाइन फारम भर्ने सुविधा पनि हुँदैन् । अझ महत्वपूर्ण कुरा फारम भरेर मात्रै भएन परीक्षा दिन त उपस्थित हुनुपर्ने होला । लकडाउनको टुंगो छैन् । फारम भर्नेले पनि कुन तयारीमा रहेर परीक्षामा सहभागी हुनेहोला ?,’ बन्दाबन्दी अघि काठमाडौँबाट गुल्मी पुगेकी प्रतिक्षा केसीले टेलिफोनमा भनिन् ।

तर काउन्सिलको परीक्षाबोर्डकी संयोजक मिना पुनले पूर्व निर्धारित निर्णय अनुसार नै तालिका सार्वजनिक गरेको बताइन । ‘पहिलो कुरा यो अहिलेको निर्णय होइन पुरानो निर्णय हो । फेरी अव कोरोना महामारीबाट जुझ्नाकालागि नर्सिङ स्टाफ चाहिन्छ । त्यसैका लागि पनि परीक्षा आवश्यक छ भनेर बोर्डले निर्णय गरेको हो । फेरी हामीले सूचना निकाल्दा लकडाउन ५ जेठमै सकिने उल्लेख थियो,’ उनले भनिन् ।

तर विद्यार्थी केसीले पूर्व निर्धारित तालिका भनेर अहिले तालिका सार्वजनिक गर्नु परिस्थितिको सही मुल्यांकन गर्न नसक्नु रहेको ठोकुका गरिन । ‘चिकित्सकको लाइसेन्स परीक्षा रोकिएको छ, एसईई र प्लसटूको परीक्षा पनि रोकिएको छ । ती सबै पूर्वनिर्धारित थिए । अहिले हामीलाई फारम भर्न डकुमेन्ट चाहिन्छ । डकुमेन्ट लिन कलेज पनि जानुपर्न सक्छ । अनि यो महामारीको बेलामा परीक्षाको तालिका सार्वजनिक गरेर काउन्सिल नेतृत्वले निकै नै अपरिपक्व निर्णय गरेको छ,’ उनले भनिन् ।

नर्सिङ क्याम्पस महाराजगञ्जकी स्ववियू सभापति विमला धमलाले लाइसेन्स परीक्षाका लागि भन्दै फारम खोल्ने र मिति तोक्ने काम काउन्सिल नेतृत्वको अपरिपक्व निर्णय रहेको बताइन । उनले लकडाउनमा परेका धेरै विद्यार्थीहरु गाँउ पुगेको र अहिले परीक्षा सञ्चालन गर्ने परिस्थित समेत नभएको अवस्थामा सूचना प्रकाशित हुँदा विद्यार्थीहरुबीच थप अन्योलता सिर्जना भएको बताइन ।

काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरेले बोर्डको निर्णय अनुसार परिस्थित सहज होला भनेर सूचना निकालेको भन्दै लकडाउन जारी रहे परीक्षा तालिका परिवर्तन हुने बताइन । उनले अघिल्लो पटक परीक्षामा उत्तीर्ण भएकाहरुलाई प्रमाणपत्र उपलव्ध गराउन नसकेपनि अनलाइनमार्फत नम्बर उपलव्ध गराइएको त्यसैको आधारमा अहिले जागिरका लागि निवेदन दिन सक्ने दावी गरिन् ।

‘हामीले अनलाइनबाट लाइसेन्स नम्बर उपलव्ध गराईदिएका छौँ । त्यसको आधारमा अप्लाई गर्न मिल्छ । थप स्पष्टताका लागि ती नम्बरका बारेमा जानकारी चाहिए काउन्सिलले जानकारी पनि दिने गरेको छ,’ घिमिरेले बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *