अब पैसा तिरेर जो सुकैले कोरोना परीक्षण गर्न सक्ने

काठमाडौँ, ६ जेठ । अब सार्वजनिक स्वास्थ्य संस्था (अस्पताल) जो सुकै व्यक्तिले पैसा तिरेर (सशुल्क) रुपमा कोरोना परीक्षण गर्न सक्नेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नीतिगत निर्णय गर्दै लक्षण नदेखिएका स्वदेशी तथा विदेशी नागरिकले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा गई स्वेच्छाले सशुल्क रुपमा आरडीटी र पीसीआर परीक्षण गर्न सक्र्ने व्यवस्था मिलाएको हो ।

मंगलबारको कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अब तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नदेखिएको अवस्थामा आरडीटी र पीसीआर स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशीहरुले परीक्षण गर्न सक्ने बताए । उनले ती संस्थाहरुले मापदण्ड अनुसार शुल्क निर्धारण गर्ने समेत उल्लेख गरे ।

मन्त्रालयका कोरोना इन्सिडेन्ट कमाण्डर समेत रहेका सहसचिव डा. गुणराज लोहनीले तोकिएका सरकारी अस्पतालबाट यी सेवा हुने र यसको शुल्कको विषयमा एक दुई दिनमै टुंगो लाग्ने बताए । उनले परीक्षणको शुल्क सबै स्वास्थ्य संस्थामा एकै खालको हुने समेत स्पष्ट पारे । ‘आज कार्यविधि पास भएको छ । अब एक दुई दिनमै शुल्क तोकिएर कार्यान्वयनमा आउँछ,’ उनले भने ।

कोरोना संक्रमण बढ्दो क्रममा देखिँदा सरकारलाई परीक्षण बढाउने दवाव थपिएको छ । शुल्क तिरेरै परीक्षण चाहनेको समेत संख्या बढेपछि सरकारले यस्तो निर्णय गरेको हो । तर कतिपयले भने यो निर्णयले पहुँच हुनेले निशुल्क र पहुँच नहुनेहरु पैसा तिर्नुपर्ने अवस्थामा पुग्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *