नीति तथा कार्यक्रम : केन्द्रमा ३०० र सात प्रदेशमा १०० बेडको सरुवा रोग अस्पताल बनाउने प्रस्ताव आउला ?

काठमाडौँ, २ जेठ । सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

यस पटकको नीति तथा कार्यक्रममा स्वास्थ्यको विषयले प्राथमिकता पाउने बताइएको छ । त्यसमा के के कार्यक्रम परेका छन् भनेर जान्नका लागि भने अपरान्ह ४ बजेसम्म कुर्नै पर्नेछ ।

तर स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार संघ र प्रदेशमा एक एक वटा सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव भने आज पेश हुने कार्यक्रममा पर्ने करीब निश्चित भएको छ ।

स्वास्थ्यले अत्याधुनिक प्रयोगशाला सहितको केन्द्रमा ३०० बेड र सात वटै प्रदेशमा कम्तीमा १०० बेडको संक्रामकजन्य सरुवारोग नियन्त्रण अस्पताल बनाउन प्रस्ताव पठाएको छ । ‘संघमा ३०० र प्रदेशमा १०० बेड नभएपनि कम्तिमा ५० बेडको अस्पताल बनाइने भन्ने आजको नीति तथा कार्यक्रममा पक्कै पर्ला,’ मन्त्रालयका एक अधिकारीले बताए ।

कोरोना संक्रमण बढदै गएको अवस्थामा यसपटकको नीति तथा कार्यक्रम र बजेट समेत स्वास्थ्यलाई प्राथमिकतामा राखेर बनाइएको बताइएको छ ।

राष्ट्रिय योजना आयोगले यसपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५३ अर्व ८३ करोडको बजेट सिलिङ तोकेको थियो । स्वास्थ्यले कोरोना संक्रमण बढ्दोक्रममा रहँदा १३ अतिरिक्त बजेट माग गरेको थियो । सो मागलाई पनि योजना आयोग र अर्थमन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *