स्वास्थ्य मन्त्रालयमा पत्रकार प्रवेशमा कडाई, मञ्चद्धारा आपत्ति

काठमाडौँ, ३१ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार प्रवेशमा कडाई गरेको छ । मन्त्रालयको भित्री मुलगेटमा रहेका सुरक्षाकर्मीले माथिको आदेश भन्दै प्रवेशमा कडाई गरेका हुन् ।

उनीहरुले भेटन चाहेको स्वास्थ्यको सम्वन्धित फाँटका अधिकारीले स्वीकृति दिएको खण्डमा मात्रै प्रवेश पाउने नियम बनाएका छन् । यसले स्वास्थ्यमा खोज मुलक रिपोर्टिङ गर्ने पत्रकारलाई बाधा पुगेको छ ।

‘जसलाई भेट्ने हो उसले हुन्छ भनेपछि मात्रै प्रवेश पाइन्छ । अन्यथा अब प्रवेश दिइदैन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले भने, ‘कोरोनाको बेलामा भिडभाड गर्नु ठिक पनि होइन । त्यसैले रोक लगाउँछौँ ।’

पत्रकारहरुले भने स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पुरा गरेरै मन्त्रालयमा जाने गरेको र भिडभाड हुने गरी आफूहरुको उपस्थिति नभएको बताएका छन् ।

‘यो महामारीको बेला हो । हामीले आवश्यक स्वास्थ्य सुरक्षा सम्वेदनशीलता बुझेका छौँ तर सुरक्षाका नाममा व्यक्ति तोकेर मात्रै छिर्न दिइनु सूचनाको हक बन्चित गर्नु हो,’ स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यले बताइन ।

मञ्चका महासचिव रामप्रसाद न्यौपानेले महामारीको सम्वेदनशील घडीमा सञ्चारकर्मीहरु सरकारको सहयोगी बन्न सक्ने भन्दै निषेध गरेर अघि बढ्दा राम्रो सन्देश नजाने प्रतिक्रिया दिए ।

कोरोना महामारीको जोखिम बढ्दो क्रममा रहेका बेला यसअघि पनि स्वास्थ्य मन्त्रालयले अनावश्यक निर्णय गर्ने र आलोचना भएपछि पछि हटने गरेको थियो । कतिपय पत्रकारले मन्त्रालयले विवादिन निर्णय छोप्नका लागि यस्तो हरकत गरेको समेत टिप्पणी गरेका छन् ।

यसैबीच स्वास्थ्य पत्रकार मञ्च नेपालले पत्रकार प्रवेशमा निषेध गर्ने स्वास्थ्य मन्त्रालयको कदमको विरोध गरेको छ । मञ्चका अध्यक्ष आचार्य र महासचिव न्यौपानेले विज्ञप्ती जारी गर्दै महामारीको बेला जोखिम उठाएर जनतालाई सही सूचना दिन सक्रिय सञ्चारकर्मीलाई मन्त्रालयले सहज ढंगले सूचना उपलव्ध गराउनु पर्नेमा उल्टै प्रवेशमा रोक लगाउनु दुखद रहेको उल्लेख गरेको छ ।

मञ्चले कोरोना संक्रमण बढदै जाँदा जोखिम पत्रकारमा समेत हुने भन्दै फिल्डमा खटिएका पत्रकारहरुले थप सजगता अपनाउन र सञ्चारगृहलाई आफ्ना पत्रकारलाई फिल्डमा खटाउँदा न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउन समेत अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *