कोरोना मुक्तपछि पुन: संक्रमणमा परेका दुई पुरुषमा दोस्रो जाँचको रिपोर्ट पनि पोजेटिभ
वीरगञ्ज, २६ बैशाख । कोरोना मुक्त भएको एक साता पछि पुन: संक्रमण देखिएका दुई जना व्यक्तिको पछिल्लो दोस्रो जाँचमा पनि कोभिड – १९ पोजेटिभ देखिएको छ ।
रौतहटका १९ बर्षिय पुरुष र वीरगञ्जस्थित मस्जितमा रहेका एक भारतीय पुरुषको कोरोनामुक्त भई डिस्चार्ज भएको एक साता पछि फलोअपमा परीक्षण गर्दा कोभिड – १९ को भाइरस पुन पोजेटिभ देखिएको थियो ।
उनीहरुलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरि राखिएको छ ।
अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले फलोअप पछि गरिएको परीक्षणमा समेत दुबै जनाको कोभिड – १९ को रिपोर्ट पोजेटिभ आएको बताए । उनले अहिले तेस्रो पटक नमूना दिइसकिएको र त्यसको नतिजा आइनसकेको जानकारी दिए ।
गत ३० चैत र १ बैशाखमा कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा रहेर उपचार गरिरहेका उनीहरुको गत ८, १० र १२ बैशाखमा परीक्षण गर्दा कोभिड – १९ को रिपोर्ट नेगेटिभ आएपछि १४ बैशाखमा डिस्चार्ज गरिएको थियो ।
तर १८ बैशाखमा फलोअपमा आएका बेला पुन परीक्षण गर्दा उनीहरुमा कोभिड – १९ पोजेटिभ देखिएको हो । त्यस यता गरिएको अर्को परीक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।
कोरोना संक्रमित एकै परिवारका १८ जनाको स्वास्थ्य सामान्य
यसैबीच डा उपाध्यायले गत १४ बैशाखमा संक्रमण देखिएका वीरगञ्ज छपकैयाका एक पुरुष र २४ बैशाखमा संक्रमण भेटिएका उनका परिवारका १७ जना सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
सो समूहमा ४ महिने शिशु देखि ६६ बर्ष सम्मका बृद्धहरु संक्रमित छन् ।
‘त्यो समूहमा स साना केटाकेटी पनि छन् । हामीले उनीहरुका लागि खेलौना समेत उपलव्ध गराएका छौँ । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था नर्मल छ,’ उनले भने ।
गत वुधबार संक्रमण सम्वन्धी विवरण दिने क्रममा सो समुहमा २ महिने शिशु रहेको भनिएपनि उनको उमेर ४ महिना रहेको डा उपाध्यायले स्पष्ट पारे ।
सम्पर्क इमेल : [email protected]