रुपन्देहीका संक्रमित युवकको सम्पर्कमा पुगेका कसैमा देखिएन कोरोना

 बुटवल, २४ वैशाख । रुपन्देहीका कोरोना संक्रमित युवकको कन्ट्याक्ट ट्रेसिङमा परेका कसैमा पनि कोरोना संक्रमण भएको नभएको पाइएको छ । संक्रमित युवकको दाजुको परिवार र सम्पर्क भएका अन्य गरी कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनाको रियलटाइम पीसीआर विधिबाट परीक्षण गर्दा सबैको कोभिड – १९ रिपोर्ट नेगेटिभ आएको हो ।

कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित २५ बर्षिय युवकसंग उनका दाजु र केही व्यक्ति प्रत्यक्ष सम्पर्कमा पुगेका थिए ।

भारतको दिल्लीबाट ट्रक चढेर र पैदल यात्रा गर्दै लकडाउनको समयमा गत ५ बैशाखमा मर्चवारको ठोठरी नाकाबाट घर आउदै थिए । उनलाई सिमा नाकाबाट दाजुले रेस्क्यु गरी ल्याएर मर्चवार आदर्श माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । पीसीआर परीक्षणका क्रममा गत शुक्रबार उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

‘पहिले उनका दाजु, तिनका परिवारका सदस्य र बाटोमा भेट भएका १० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज थप १४ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट आयो र सबैको नेगेटिभ छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले भने ।

कोरोना संक्रमित युवकलाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *