सुत्केरीलाई पौष्टिक आहार बाँड्दै पोखरा महानगर

जमुनावर्षा शर्मा

चिप्लेढुङ्गा, २२ वैशाख । जारी बन्दाबन्दीमा विशेष गरी सुत्केरीलाई पौष्टिक आहारको अभाव हुन नदिन पोखरा महागरपालिकाले हर्लिक्स, घिउ र रु ५०० प्रदानसहित घरदैलो कार्यक्रम शुरुआत गरेको छ । बन्दाबन्दीका समयमा सुत्केरी भएर घरमै बसेका, माइती जान नपाएका एवं आफन्तको भेटघाटबाट वञ्चित ती महिलालाई खोजी गर्दै महानगरले अभिभावकीय भूमिका निर्वाह गरेको हो ।

गत चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्न र कोसेलीका रुपमा ती प्याकेज लिएर महानगरका कर्मचारी एवं जनप्रतिनिधि सुत्केरीको घरदैलामा पुगेका हुन् । महानगरले पहिलो दिन आइतबार १८ जनालाई पौष्टिक आहार उपलब्ध गराएको छ । महानगरको हटलाइन नम्बरमा शनिबारसम्म २६ जनाको नाम टिपाइएको थियो ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले ती महिलालाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि रु एक हजार ५०० बराबरको प्याकेजसहित रु ५०० दिने निर्णय गरी सुत्केरी भेटघाट कार्यक्रम गरिएको जानकारी दिइन् । “सुुत्केरी भएको समयमा महिलालाई पौष्टिक आहारको आवश्यक पर्छ, तत्कालका लागि हामीले हर्लिक्स, घिउ, तेल उपलब्ध गराएका हौँ, यसबाहेक केही आवश्यक सामग्री किन्न नगद रु ५०० उपलब्ध गराएका छौँ ” ,उनले भनिन्।

उनले चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको बताइन् । उनले भनिन्,“सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ, राहतका रुपमा भन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर वितरण गरेका हौँ ।”

नाम टिपाएका सबैलाई घरघरमै पौष्टिक आहार पु¥याइने उपप्रमुख गुरुङले बताइन् । वडाका जनप्रतिनिधिका समन्वयमा महानगरका कर्मचारीसहित सुत्केरीको घरमै सामान पु¥याउने व्यवस्था गरिएको छ । आइतबार पोखरा ९, १० र १५ मा वडाध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित सुत्केरी भेट्न पुगेका थिए । बन्दाबन्दी कारण दैनिक ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउने तथा विपन्न ३१ हजारभन्दा बढीलाई महानगरले राहत वितरण गरिसकेको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *