कन्ट्याक ट्रेसिङ गराएका मध्ये २५ प्रतिशतमा कोरोना पोजेटिभ

काठमाडौँ, २१ बैशाख । एक जना कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा २५ प्रतिशतमा भाइरस पोजेटिभ देखिएको छ । तीन दिन अघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ डिएसपी टोलका ६० बर्षिय पुरुषलाई कोरोना संक्रमण भएको पाइएको थियो ।

उनको कन्ट्याक ट्रेसिङ क्रममा ९४ जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्ये ६० जनाको नतिजा आज निस्कदा १५ जना (२५ प्रतिशत) मा कोरोना भाइरस पोजेटिभ देखिएको हो । ‘पहिलो ३० जनाको परीक्षण गर्दा ९ जना र दोस्रो लटमा ३० जनाको गर्दा ६ जनामा पोजेटिभ देखियो । बाँकी ३४ जनाको नतिजा आउँन बाँकी नै छ,’ स्वास्थ्य सेवा विभागका  महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने ।

उनले तीन दिन अघि भेटिएका संक्रमित व्यक्तिले मदरशामा पढाउने र मुस्लिम समुदायको अगुवा समेत भएकोले संख्या बढेको बताए ।

२५० थान पीसीआर किट पठाइयो
यसैबीच स्वास्थ्य सेवा विभागले नेपालगञ्जका लागि थप २५० किट पठाएको छ । संक्रमित थपिएका बेला नेपालगञ्जमा स्थापना भएको प्रयोगशालामा कोरोना जाँच गर्ने किट सकिएको भन्ने कुरा थाह पाएपछि रातारात किट खोजेर पठाएको हो । ‘हामीले यताउता गरी किट म्यानेज गरेका छौँ,’  विभागका महानिर्देशक श्रेष्ठले भने ।

यता स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले नेपालगञ्जका लागि आवश्यक किट, पीपीई, मास्क, सेनिटाइजर लगायतका आवश्यक परीक्षण तथा व्यक्तिगत सुरक्षा सामग्री पठाइन लागिएको बताए । ‘एक ट्रक सामन पठाउँदै छौँ । भोलिसम्म त्यहाँ पुग्छ,’ डा कार्कीले भने ।

नेपालगञ्जमा आज १५ जना सहित अहिलेसम्म कुल संक्रमितको संख्या १६ पुगेको छ । उनीहरुको उपचार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा हुँदैछ । आजको संख्या संगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *