सात जिल्लामा दादुराको ‘आउटब्रेक’

धादिङको बेनिघाट रोराङ -१ मा खोप लगाउन लामबद्ध बच्चा र तिनका अभिभावकहरु । तस्बिर डा. अभियान गौतम

काठमाडौँ, १७ बैशाख । सरकारका अधिकांश संयन्त्र कोरोना भाइरस ( कोभिड – १९) को संक्रमणलाई नियन्त्रण गर्ने अभियानमा जुटेका बेला देशका विभिन्न स्थानमा दादुराको ‘आउटब्रेक’ भएको छ ।

गत माघ यता तीनवटा प्रदेशको सात जिल्लामा दादुराको आउटब्रेक देखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाल अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोर्खामा गरी १८५ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये दुई जनाको ज्यान गएको छ ।

परिवार कल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा. झलक गौतमले ६ महिना देखि ४० बर्षसम्मकोमा दादुरा देखिएको बताए । उनले झापाको दमकमा यसअघि २१ जनामा, सर्लाहीमा ६ जना, ललितपुरको खोकनामा १८ जना, धादिङको वेनिघाट र गजुरीमा गरी ११३ जना, काठमाडौँको पेप्सीकोलामा १४ जना, चितवनको राप्ती नगरपालिकामा ८ जना र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको बताए । यी मध्ये धादिङमा दुई बालबालिकाको ज्यान गएको हो ।

डा.  गौतमका अनुसार दादुराको संक्रमण देखिएकामध्ये ८५ प्रतिशत व्यक्तिले खोप पाएका छैनन् । बाँकी १५ प्रतिशत पनि पूर्ण खोपबाट बन्चित छन् । तर संयोग यस्तो छ कि अहिले प्रकोप देखिएका सातवटै जिल्ला सरकारले पूर्ण खोप घोषणा गरेका जिल्लाहरु हुन् ।

डा गौतमले बढी केश देखिएका धादिङ र गोर्खा चेपाङबाहुल समुदाय बसोबास भएको बताए । बाँकी जिल्लाहरुमा पनि खोप नलिएकाहरु नै परेको बताए । उनले यो प्रकोपले खोपको महत्व र यसको निरन्तरताको आवश्यकताको बारेमा थप प्रष्ट्याएको बताए ।

धादिङमा तीन महिना देखि गोरखामा तीन देखि
धादिङको बेनिघाट र गजुरीका विभिन्न स्थानमा यो भाइरसको प्रकोप देखिन थालेको तीन महिना भयो । ‘एक ठाँउमा देखिएर नियन्त्रणमा नआउँदै अर्को ठाँउमा यसको प्रकोप देखिएको छ । त्यसैले यो त्यो ठाँउको लागि महामारी नै हो,’ डा गौतमले अगाडी थपे, अ’हिले गोर्खामा देखिएको संक्रमण पनि धादिङकै बेनिघाट र गजुरी वारीपारीको क्षेत्र रहेको स्थान हो,’

तीन दिन गण्डकी गाउँपालिका ७ मा देखिएको संक्रमणमा ६ महिना देखि १७ बर्षसम्मका बालबालिकाहरु परेका छन् ।

धादिङमा ६ महिना देखि १५ बर्ष उमेरका २० हजार बालबालिकालाई खोप दिइदै

धादिङको बेनिघाट रोराङ – १ मा खोप लगाइदिदै स्वास्थ्यकर्मी

यसैबीच बेनिघाट र गजुरीमा तीनमहिनाको बीचमा तीन पटक आउटब्रेक भएपछि स्वास्थ्य सेवा विभागले विशेष खोप अभियान आउटब्रेक रेस्पोन्स इमुनाइजेसन शुरु गरेको छ ।

सो अभियान अन्तरगर्त बेनिघाट र गजुरी गाँउपालिकाका ६ महिना देखि १५ बर्ष उमेर समूहका २० हजार बालबालिकाहरुलाई मिजल्स र रुवेलाविरुद्धको खोप दिइन थालिएको छ । ‘सो खोप कार्यक्रम आजबाट शुरु भयो, आगामी २३ बैशाख सम्म यो अभियान सम्पन्न गर्ने योजना छ,’ डा गौतमले भने । अभियानमा भिटामिन ए को औषधि समेत खुवाइने भएको छ ।

सरकारको सारा संयन्त्र अहिले कोरोना नियन्त्रणमा केन्द्रीत छ । यसले धेरै जिल्लामा नियमित खोप समेत रोकिएको अवस्था छ । यसले आगामी बर्षहरुमा यस्ता खालका महामारीहरु थप बढ्ने अनुमान गरिएको छ ।

अहिले त यसको असर देखिदैन तर केही बर्ष भित्र पुन भयावह रुपमा परिणाम देखिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । डा गौतमले त्यहि डरका कारण स्वास्थ्य सेवा विभागले केही दिन अघि सबै स्थानीय निकाय र स्वास्थ्य चौकीहरुलाई खोप कार्यक्रम अवरुद्ध नगर्न र नियमित गर्न पत्राचार गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *