कोरोना जितेर थप पाँच जना अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौँ, १३ बैशाख । कोरोना भाइरसको (कोभिड – १९)लाई जितेर विभिन्न अस्पतालमा उपचार गराईरहेका पाँच जना डिस्चार्ज हुने भएका छन् । कोरोना जित्नेहरुमा चितवनस्थित भरतपुर अस्पतालबाट एक जना २७ बर्षका पुरुष र वीरगञ्जस्थित नारायणी अस्पतालका ४ जना पुरुषहरु छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले संक्रमित दुई जना(आमा छोरा) मध्ये छोराको पछिल्लो दुईपटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको बताए । उनले आजै केही बेरमा डिस्चार्ज हुने जानकारी दिए ।

उता वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराईरहेका चार जनाको पनि पछिल्लो दुईपटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका प्रमुख डा मदनकुमार उपाध्यायले ४ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको बताए । तर उनले चार मध्ये तीन जना भारतीय नागरिक भएको र उनीहरुलाई डिस्चार्ज गरी पठाउन केही प्रक्रिया पुरा गर्नुपर्ने भएकाले आइतबार मात्रै डिस्चार्ज गर्ने योजना बनाएको बताए ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका ३७, ४४ र ५५ बर्षका पुरुषहरुलाई गत ३० चैतमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । यस्तै १ बैशाखमा रौतहटका १९ बर्षीय पुरुषमा समेत कोरोना पोजेटिभ देखिएपछि सोही अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो । ‘यी चार जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो,’ अस्पतालका प्रमुख डा उपाध्यायले भने ।

वीरगञ्जमा गत विहीबारबाट सर्लाहीका थप एक १४ बर्षीय पुरुषको पनि उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । अहिलेसम्म ११ जना डिस्चार्ज भइसकेका छन् । आज रिपोर्ट नेगेटिभ आएकाहरुको समेत गणना गर्दा कोरोना जित्नेको संख्या १६ पुग्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *