‘कोरोना नियन्त्रणमा हाम्रो प्रयास अहिलेसम्म संसारमै उत्कृष्ठ छ’

- नेपाली हेल्थ

नेपालमा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पछिल्ला हप्तामा केही बढेको छ । महिना दिन देखि जारी लकडाउन र परीक्षणको दायरा केही बढाउँदा संक्रमितको संख्या बढेको विज्ञहरुको तर्क छ । संख्या बढ्दै जाँदा कोरोनाप्रति सरकारको तयारी फितलो भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् । तर स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ तयारी फितलो भएको भन्ने कुरा मान्न तयार छैनन् । किन छैनन् ?

शुक्रबार नेपाली हेल्थका रामप्रसाद न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप हेर्नुहोस् :

कोरोना भाइरसको संक्रमणको आधारमा कुरा गर्दा अहिले नेपालको अवस्था कुन लेभलको हो ?

कोरोना भाइरसको संक्रमणको आधारमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले देशहरुलाई तीन लेभलमा छुट्याएको छ । नेपालको संक्रमण अहिले दोस्रो लेभलमा छ । त्यसभन्दा अघि लेभलबारे बुझ्न जरुरी छ ।

लेभल १ : लेभल १ भनेको एउटा विरामी विदेशबाट आयो वा विदेशमै विरामी भएर आयो वा यहाँ आएर चिन्ह वा लक्षणहर देखियो । त्यसलाई पहिले इम्पोटेड भन्थ्यो अहिले स्पोराइटिक भन्छ ।

लेभल २ : बाहिरबाट आएको आएको व्यक्तिले घरपरिवारको मान्छेलाई सार्‍यो । इन्डेक्स केश भन्छ, को हो त पहिलो विरामी भन्ने पत्ता लाग्यो । त्यसपछि उसले सारेको भएपछि त्यहाँ जति बढी केश भएपनि त्यो लेभल २ हो । त्यसलाई क्लस्टर अफ केसेज भन्छ । पहिले यसलाई लोकल ट्रान्समिसन भनिन्थ्यो । नेपाल भारत श्रीलंका अहिले लेभल २ मा हो ।

लेभल ३ : लेभल ३ भनेको अब त्यसले कहाँबाट सर्‍यो ? कसले सार्‍यो भन्ने केही थाह नभएको ? विदेश पनि गएको थिएन ? कतै सम्भावित व्यक्तिको सम्पर्कमा पनि गएको थिएन । अर्थात को संग सर्‍यो भन्ने नै थाह नभएको अवस्था । जस्तो नुवाकोटको दुर्गम गाँउमै रहेको स्थानीय जो कहि कतै कसैको सम्पर्कमा पुगेको थिएनलाई सर्‍यो भने त्यो बल्ल कम्युनिटी ट्रान्समिसन भनिन्छ । साउथ इष्ट एसियामा लेभल ३ मा इन्डोनेसिया मात्रै छ । किनभने हामीलाई प्रत्येक केश कहाँबाट कसरी सर्‍यो भन्ने थाह छ । स्पेन, इटालीको महामारी लेभल ३ को थियो ।

कोरोना नियन्त्रणमा नेपाल सार्क क्षेत्रका देशहरुमा कुन स्थानमा छ ?
नेपाल जनसंख्याको आधारले ४९ औँ ठूलो देश हो । क्षेत्रफलको आधारले ९५ औँ ठूलो देश हो । हामी जति जनसंख्या भएको संसारको कुनै पनि देशमा कोरोना केश हाम्रो जति थोरै छैन । करीब ३ करोड जनसंख्या भएको भएको हाम्रो देशमा अहिले कोभिड १९ को ४८ वटा केश भेटिएको छ । तर यति जनसंख्या भएका संसारका अरु कुनै देशमा यति थोरै केश छैन । हामीकहाँ अहिलेसम्म मृत्युको केश छैन् । अरु देशहरुमा थुप्रो मृत्युको केश देखिएको छ ।

हामीले अहिले हरेक मृत्युको ‘डेथ अडिट’ गरेका छौँ । जस्तो बुटवल, चितवन, वीर अस्पतालमा संकास्पद विरामी मरेको भनियो । हामीले मर्नु अघि नै स्वाव लिएका थियौँ । उनीहरुको पनि परीक्षण गर्‍यौँ तर कोभिड १९ को संक्रमण देखिएन । संसारमा कोभिडबाट मृत्यु नभएको र थोरै संक्रमित भएको हामी मात्रै हौँ ।

हाम्रो यो अवस्था कसरी सम्भव भयो ?
यसमा दुईवटा कुरा छ । एउटा हाम्रो तयारी । हामी शुरु देखि तयारीमा छौँ । ‘डे वान’ देखि तयारी छ हाम्रो । दोस्रो कुरा हाम्रो जो विदेशबाट आयो त्यो युवा बर्ग परे । युवा बर्गमा यो केशको प्रभाव धेरै छैन । र यसले ‘ड्राइभर अफ ट्रान्समिसन’ के छ भने सिरियस विरामी जो छ त्यसले बढी सार्छ । एसिम्ट्रोमेटिकले धेरै सार्दैन भन्ने छ । सार्न त सार्छ तर त्यो बढी जोखिम होइन । सार्ने र भयावह अवस्था हुने गम्भीर विरामीहरुबाट हो भन्ने छ । त्यो हाम्रो राम्रो सम्पत्ती हो ।

इटालीको इतिहास हेर्ने हो भने त्यहाँ शुरुमा बृद्धबृद्धाको मृत्यु भएको छ । तिनीहरुले सारेका हुन् । युरोप अमेरिका तिरको इतिहास हेर्दा पनि बुढाबुढीहरुमा यो संक्रमण बढी गम्भीर देखिएको र बढी मृत्यु पनि तिनैको भएको पाइएको छ । नेपालको भने विदेशबाट युवाहरु आए । यसले संक्रमण फैलन पाएन ।

अर्को कुरा हामीले ‘अर्लि डिटेक्सन’ गरेका छौँ । हामी संक्रमण पत्ता लगाउने सार्क कै पहिलो देश हौँ । चीनले ७ तारिखमा घोषणा गरयो । १३ जनवरीमा हामीले मान्छे समातिहाल्यौँ । २३ तारिखमा रिपोर्ट आइसक्यो । हामीले जसरी खोजपडताल र जाँच गर्‍यौँ त्यसको नतिजा अहिले देखिएको हो ।

कोरोना निन्यत्रणमा स्थानीय तहको भूमिका कस्तो छ ?
अहिले तीन तहको अनुगमन गरेका छौँ । एउटा अनुगमन स्वास्थ्य कार्यालयले गर्छ । विदेशबाट मान्छेहरु आए, हामीले एयरपोर्टमा फारम भराएका छौँ । क्वारेन्टाइन फारम भर्छ । त्यो पालिकामा पठाइदिएका छौँ । त्यो अनुगमन भएको छ । दोस्रो कुरा पालिकाको प्रत्येक वडाले विदेशबाट कति जना मान्छे आए ? त्यो मान्छेहरुको जनगणना गरेको छ र जानकारी गराएको छ ।

अर्को अनुगमन प्रहरीले गरेको छ । सुरक्षा निकायले आफ्नो क्षेत्रभित्र कति जना मान्छे बाहिरबाट आए भन्ने अनुगमन गरेको छ । चौथो यो सबैको अनुगमन प्रमुख जिल्ला अधिकारीबाट भएको छ । जिल्ला समन्वय समितिको अध्यक्षको नाताले यो अनुमगन भएको छ । त्यसैले जिल्लामा को मान्छे आएको छ भन्ने कुरा ४ तहबाट अनुगमन भएको छ । अहिले गाँउमा एउटा मान्छेलाई ज्वरो आएको छ भन्नासाथ जिल्लाले उसलाई तत्काल रेस्क्यु गरि परीक्षणका लागि ल्याइ हाल्छ ।

कोरोना नियन्त्रणका लागि खटिने जनशक्तिका लागि स्वास्थ्यसामग्री प्रयाप्त छ त ?
ठिक कुरा गर्नुभयो । यतिवेला हामीले कोरोना विरुद्ध खटिएका स्वास्थ्यकर्मीका लागि पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएका छौँ । बीचमा पीपीईको धेरै कुरा आयो ।

विश्व स्वास्थ्य संगठनले यसको प्रयोगका सम्वन्धमा गाइडलाइन (र्‍यासनल युज अफ पीपीई) तयार गरेको छ । त्यो अनुसार सामग्री पुगेको छ । जहाँ आवश्यक छ त्यहाँ पुगेको छ । जहाँ आवश्यक छैन त्यहाँ पठाइएको छैन् । यहाँ त विद्युतका कर्मचारी, पानी बोक्ने ट्यांकरवालाले पनि पीपीई, मानसिक अस्पतालमा काम गर्ने, डेलिभरी गराउने आदि सबैले पीपीई खोज्दा समस्या भएको हो । आवश्यक भएको ठाँउमा अभाव छैन ।

थप समाचार


Facebook Comment