केन्द्रीय कारागार अस्पतालका दुई जना नर्समा आरडीटी पोजेटिभ

काठमाडौँ, ९ बैशाख । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुई जना नर्सलाई र्‍यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी)  विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको छ ।  दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

कारागार अस्पताल स्रोतका अनुसार सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएको थियो । सो क्रममा दुई जनाको पोजेटिभ देखिएको हो ।

‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्कियो । त्यसपछि उनीहरुलाई टेकु पठायौँ । अहिले त्यहाँको आइसोलेसनमा राखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा पिसिआरको परीक्षण हुँदैछ,’ स्रोतले भन्यो ।

कैदीबन्दीहरुको उपचारका लागि भनेर स्थापना गरिएको केन्द्रीय कारागारको अस्पताल ३० बेडको हो । गृह मन्त्रालय अन्तरगर्तको अस्पताल भए पनि कर्मचारीहरु स्वास्थ्यकै छन् । तलव गृहबाट आएपनि स्वास्थ्यकर्मीहरुको सरुवा बढुवा स्वास्थ्य मन्त्रालय अन्तरगर्तबाट हुने गर्दछ ।

केन्द्रीय कारागार, भद्रगृह र महिला जेल गरी त्यहाँ करीब ३ हजार देखि ३ हजार ५०० बढी कैदी बन्दी रहेका छन् । डिल्लीबजार, नख्खु लगायतका कारागारबाट पनि गम्भीर स्वास्थ्य समस्या भएका कैदीहरुलाई सोही अस्पतालमा ल्याएर उपचार गरिन्छ ।

सो अस्पतालमा एघारौँ तहको मेसु हुने व्यवस्था छ । ६ जना मेसु, १२ जना नर्स, ८ जना प्यारामेडिक्स सहित झण्डै ८० ८५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेको बताइएको छ ।

नर्सहरुलाई आरडीटी पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका कैदीवन्दी विरामीको समेत आरडीटी परीक्षण गरिएको तर उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्रोतले बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *