डाक्टर पुनलाई बोलाएर स्वास्थ्य मन्त्रालयले भन्यो, ‘टेकुमा बाधा नपर्ने गरी यता पनि सल्लाह दिनु’

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनको जिम्मेवारी थपेको छ । मन्त्रालयले कोभिड नियन्त्रणको कार्यमा टेकु अस्पतालको सेवामा असर नहुने गरी बेलाबखतमा मन्त्रालयमा समेत आएर आफ्नो विज्ञता प्रस्तुत गर्न भनेको छ ।

कोभिड – १९ विरुद्धको अभियानमा टेकु अस्पतालको फ्रन्टलाइनमा रहेर काम गरेका डा पुनलाई मन्त्रालयले उपस्थित हुनु भन्दै चिठी पठाएपछि कतिपय सञ्चारमाध्यमले कारवाहीको तयारी भन्दै समाचार प्रकाशित गरेका थिए । तर आज मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उनको जिम्मेवारी थप बढाइएको उल्लेख छ ।

डा पुन आज दिउसो दिउसो करीब १ बजे देखि ४ बजेसम्म मन्त्रालयमा थिए । त्यसबीचमा उनले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसंग समेत छलफल गरेका थिए ।

‘अस्ति चिठी गएको रहेछ । मैले हेर्न पाएको थिईन् । हिजो शनिबार घरमै बसेँ, आज गएर चिठी हेरेँ खासै केही रहेनछ । तर मिडियामा विषयान्तर भएर कुरा निकै अघि बढीसकेको थियो । त्यसैले साथीहरुसंग आएँ । कुराकानी भयो । टेकुको काममा बाधा नहुने गरी यता पनि तपाईँको विज्ञता प्रस्तुत गर्नुस भन्नु भएको छ । मलाई जानेको कुरा सेयर गर्न गाह्रो हुँदैन,’ डा पुनले भने ।

स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्कीले बास्तविकता नै नबुझी अनुमानको भरमा मिडियाले मन्त्रालय र डा पुनको विषयमा भ्रम फैलाएको बताए । उनले भने, ‘सरुवा रोगको विषयमा डा पुनको दख्खल छ । मिडियामा पनि उहाँ छाईरहनु भएको छ । कोभिड नियन्त्रण गर्न मन्त्रालयले पनि यस्तै विज्ञ खोजेको छ । त्यसैले उहाँलाई बोलाइएको थियो । फोनबाट सम्पर्क नभएपछि चिठी पठाएको हो । तर मन्त्रीसंग जोडेर अनर्गल प्रचार गरियो । ‘

मन्त्री ढकालले पनि मन्त्रालयलाई तपाईँ जस्तो विज्ञको खाँचो रहेको भन्दै टेकु अस्पतालको सेवामा बाधा नपर्ने गरी आएर सल्लाह सुझाव दिनुस भनेको विज्ञ सल्लाहकार कार्कीले बताए ।

छलफल पछि मन्त्रालयले, विज्ञप्ती र उनलाई पठाएको चिठी सार्वजनिक गरेको छ । यस्तै पुनले पनि विज्ञप्ती जारी गर्दै आफूलाई थप जिम्मेवारी प्राप्त भएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *