कोरोना जितेर दोस्रो संक्रमित अस्पतालबाट डिस्चार्ज, छैटौँ संक्रमितको पनि रिपोर्ट आयो नेगेटिभ

टेकु अस्पतालमा २७ दिन लामो उपचार पछि निको भएर घर फर्कदैँ दोस्रो संक्रमित

काठमाडौँ, ६  बैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा परेको दोस्रो व्यक्ति १९ बर्षीया युवती टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन् । पछिल्लो दुईपटकको परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको हो । उनी २७ दिन देखि टेकु अस्पतालको आइसोलेसनमा थिइन ।

यता बाग्लुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी ६५ बर्षीया बृद्धाको पनि दुबै पटकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले सो जानकारी दिएका हुन् ।उनको पनि आज बेलुकासम्म डिस्चार्ज हुने तयारी भएको छ ।

‘मैले भर्खरै जानकारी पाएको छु । उहाँको पछिल्लो रिपोर्ट पनि नेगेटिभ आएको छ । अब रिपोर्ट अस्पतालमा पठाउने तयारी हुँदैछ । त्यसपछि उहाँको डिस्चार्ज हुन्छ होला,’ डा. शर्माले भने ।  उनी पनि झण्डै तीन सातादेखि धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी थिइन ।

आज नेगेटिभ रिपोर्ट आएका दुबैजना गत ४ चैतमा नेपाल आएका थिए । दोस्रो संक्रमित फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन् । उता बाग्लुङको धवलागिरी अस्पतालमा रहेकी छैटौँ संक्रमित पनि सोही दिन अर्थात ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आइपुगेकी हुन् । दोस्रो र छैटौँ संक्रमित दोहाबाट काठमाडाँै एउटै प्लेनमा आएका थिए ।

टेकुमा उपचाररत युवतीको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो । उता बागलुङमा रहेकी संक्रमित महिलाको स्वाब अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पहिलो संक्रमित व्यक्ति एक जना भने पहिले नै निको भएर घर फर्किसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *