प्रदेश नं ५ मा दुबै विधिबाट २ हजार बढीको कोरोना परीक्षण, एउटा पनि पोजेटिभ देखिएन

पाल्पाको पूर्वखोला गाउँपालिका अन्तर्गत सिलुवा क्वारेनटाईनमा राखिएकाहरुको आरडीटीबाट कोरोना परीक्षण गरिदै

बुटवल, ६ बैशाख । भारतसंग सीमा जोडिएको, वैदेशिक रोजगारीमा जानेहरु धेरै भएको प्रदेश नं – ५ कोरोना भाइरस संक्रमणको उच्च जोखिम मानिएको छ । तर अहिलेसम्म गरिएको दुबै विधि (रियल टाइम पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेष्ट – आरडीटी) को परीक्षणमा पोजेटिभ केस देखिएको छैन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीका अनुसार शुक्रबार बेलुकासम्म प्रदेशभर आरडीटी र पीसीआरका गरी २ हजार ११४ नमूनाको परीक्षण भएको थियो । ती मध्ये सबै नेगेटिभ छन् ।

‘काठमाडौँको जनस्वास्थ्य प्रयोगशालामा १२६ वटा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा १५२ गरी कुल २५२ वटा नमूना पीसीआर विधिबाट परीक्षण गर्न पठाइएको हो । त्यसमा २४ वटाको रिपोर्ट आइसकेको छैन् । आएका जति सबै नेगेटिभ छ । यस्तै आरडीटी विधिबाट शुक्रबारसम्म १ हजार ८८६ जनाको परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ डा गिरीले भने ।

उनका अनुसार विदेशबाट आएर क्वारेन्टाइनमा बसेका ११ वटा जिल्लाका सबैको आरडीटी परीक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश नं ५ मा १२ वटा जिल्ला पदर्छ । त्यसमध्ये पूर्वी रुकुममा आरडीटी परीक्षण शुरु गरिएको छैन् ।

डा गिरीले हरेक जिल्लाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको १५ औँ दिनमा आरडीटी परीक्षण गरिएको बताए ।’ हामीले अघिल्लो बिहीबारबाट आरडीटी परीक्षण गरेका हौँ । तर अहिलेसम्म एउटा पनि केश पोजेटिभ आएको छैन्,’ उनले भने ।

पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्ला भारतीय भूमीसंग जोडिएको छ । सिमा क्षेत्रका बासिन्दाको किनमेल र नातागोतासमेत सिमा पारी अर्थात भारत तर्फ बाक्लो हुने गर्दछ ।पछिल्लो समय ती क्षेत्रमा भारतबाट ठूलो संख्यामा मानिसहरु आएको समेत बताइएको छ । तर अहिलेसम्म परीक्षण गरिएकाहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालको सातवटा प्रदेशमध्ये कुनै पनि विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ नदेखिएको अहिलेसम्म प्रदेश नं ५ ठहरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *