उदयपुर र चितवनमा गरी थप १४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३० पुग्यो


काठमाडौँ, ५ बैशाख । उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार संक्रमित १२ जना त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए । उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषहरु हुन् । यस्तै चितवनमा पोजेटिभ देखिएका दुई जना एकै परिवारका आमा छोरा हुन् । उनीहरुको उमेर ६३ बर्ष र २७ बर्ष रहेको छ ।

‘उदयपुरको भुल्केस्थित मस्जितमा १६ जना रहेछन् । तीमध्ये कति नेपाल कति भारतीय भन्ने अझै एकीन भएको छैन । स्थानीयहरुले ४ जना नेपाली र १२ जना भारतीय भएको बताएका छन् । त्यसैले संक्रमित अधिकांश भारतीय भएको बुझिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

टेकुबाट पोजेटिभ भएको पुष्ट भए लगत्तै उनीहरुलाई अहिले विराटनगर तर्फ ल्याइएको छ । सो एरियालाई सिल गरिएको छ । भोलि विहानैबाट स्थानीय तहमा सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भएको बताइएको छ ।

यता चितवनमा संक्रमित देखिएका आमा छोराको अवस्था भने सामान्य रहेको छ ।

विदेशबाट आएकाहरुको आरडीटी परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर टेष्ट गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए । उनले दुबैजनालाई अहिले सोही अस्पतालको आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *