कोरोना नियन्त्रणका लागि १३ अर्व अतिरिक्त बजेट माग्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ५ बैशाख । आगामी आर्थिक बर्षका लागि कोरोना नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ अर्व अतिरिक्त बजेट माग गरेको छ ।

राष्ट्रिय योजना आयोगको अगुवाईमा विहीबार सिंहदरबारमा भएको आगामी बर्षको बजेटसम्वन्धी छलफलमा स्वास्थ्यले कोरोना नियन्त्रणका लागि सिलिङ बाहेक अतिरिक्त १३ अर्व चाहिने खाका प्रस्तुत गरेको हो । सो प्रस्तावमा योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरु सकारात्मक देखिएका छन् ।

योजना आयोगले आगामी आर्थिक बर्षका लागि स्वास्थ्यलाई ५३ अर्व ८३ करोड ५४ लाख रुपैयाँको बजेट सिलिङ पठाएको थियो । त्यसमा स्वास्थ्य बीमा ६ अर्व ५० करोड र भवन निर्माणका लागि १७ अर्व छुट्याएको थियो । त्यसबाहेक अरु योजना स्वास्थ्यले आवश्यकता अनुसार बनाउन भनेको थियो ।

‘बिहीबारको बैठकमा कोरोना महामारी रोक्न विशेष बजेट चाहिने भन्यौँ । योजना आयोग र अर्थका अधिकारीहरु सकारात्मक देखिनु भएको छ । सम्भवत थपिन्छ,’ बैठकमा सहभागी स्वास्थ्यका एक अधिकारीले भने ।

उनले यसपटक स्वास्थ्य र शिक्षामा लगानी थप्न योजना र अर्थका अधिकारीहरु सकारात्मक भएको बताए । ‘अरु त होइन स्वास्थ्य र शिक्षामा बजेट चाहे अनुसार बढ्छ होला । योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहर आउँदो बर्षको बजेट स्वास्थ्यको लगानी बर्षको रुपमा नै आउने भन्नु भएको छ । यसपटक अघिल्ला बर्षभन्दा स्वास्थ्यको बजेटको आकार निश्चिय नै फरक हुन्छ,’ उनले भने ।

चालु आर्थिक बर्षमा स्वास्थ्यको बजेट ४२ अर्व ६७ करोड ९ लाख रुपैयाँ छ । गतवर्ष देखि स्थानीय तथा प्रदेश तहका स्वास्थ्य संस्थाका लागि अर्थले सोझै बजेट पठाउँदा स्वास्थ्य मन्त्रालयको बजेट भोलुम घटेको देखिएको थियो ।

चालु बर्षका लागि सरकारले प्रदेशको स्वास्थ्यलाई ४ अर्व ८७ करोड र स्थानीय तहलाई स्वास्थ्यमा २१ अर्व १३ करोड रुपैयाँ छुट्याएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *