डेढ महिना देखि धादिङमा दादुराको महामारी, अझै नियन्त्रणमा आएन

काठमाडौँ, २६ चैत । देश मात्रै होइन सारा विश्व कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेका बेला धादिङ बेनिघाटका चेपाङहरु भने दादुराको महामारीविरुद्ध लडिरहेका छन् । डेढ महिना अघि देखि शुरु भएको यो महामारीबाट हालसम्म १५० बढी संक्रमित भएका छन् भने २ बालबालिकाको ज्यान गएको छ ।

संयोग कस्तो परयो भने सरकारले यहिवेला दादुरा रुवेला रोग विरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गरेको छ । तर धादिङ बेनिघाट रोराङ गाँउपालिका ६ चेपाङ बस्तिमा यहि रोगले महामारीको रुप लिएर दुई जनाको ज्यान नै लिएको छ ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा भुवन पौडेलका अनुसार गत ६ फागुनमा पहिलो केश देखिएको थियो । अहिलेसम्म सो संख्या १५० नाघेको छ । बेनिघाट रोराङ गाँउपालिका वडा नं ६ मा पर्ने रोतेश बुङपुङ, सोलडाँडा, यस्तै सोही गाँउपालिकाको वडा नं १ मा पर्ने जरुङ्ग क्षेत्रमा दादुरा आउटब्रेक भएको हो ।

‘अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन् । त्यस क्षेत्रमा अनुगमनमा गएकी एक अहेव सहित सहित १५० बढीमा केश आएको पाइयो । छ महिना देखि ३४ बर्षसम्मका व्यक्ति दादुराबाट प्रभावित छन्,’ डा पौडेलले भने । उनले गत ११ र १५ चैतमा क्रमश २९ महिने बालिका र ८ महिने बालकको ज्यान गएको जानकारी दिए ।

धादिङको दुर्गम मानिने सो गाँउका चेपाङ बालबालिका खोपको पहुँचमा नपुगेको पाइएको समेत डा पौडेलले सुनाए । ‘धादिङ पूर्ण खोपयुक्त जिल्ला हो । तर सो गाँउमा खोप लगाएको पाइएन । तर अहिले हामीले सबै बालबालिकालाई खोप लगाएका छौँ,’ उनले अगाडी थपे, ‘तर यसले तत्कालै काम त गर्दैन् । पछिलाई रोक्न मद्धत गर्ने हो ।’

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा झलक गौतमले बेनिघाट रोराङको दादुरा महामारी पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको बताए । उनले केशहरु कम हुँदै गए पनि संक्रमण नियन्त्रणमा आइनसकेको स्पष्ट पारे । उनले केन्द्रसंग समन्वय गरेर जिल्ला तथा स्थानीय तहबाट महामारी नियन्त्रणका लागि आवश्यक कदम चालिएको दावी गरे ।

सरकारले फागुन र चैत महिनालाई दादुरा रुवेला रोग विरुद्धको खोप अभियान महिनाको रुपमा मनाउँदै छ । सो अन्तरगर्त फागुन महिनामा प्रदेश नं १, २ र ५ मा यो अभियान सञ्चालन गरिएको छ । चैत महिनामा बाग्मती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो अभियान सञ्चालन गर्ने योजना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *