कोरोना संक्रमित पाँचौँ युवतीका घरका सबै सदस्यको रिपोर्ट नेगेटिभ

208
Shares

बागलुङ, १९ चैत । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो ।

परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ ।

संक्रमित युवतीको स्वास्थावस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना संक्रमण नहुन सक्ने आशा जागेको डा पोख्रेलले जानकारी दिए ।

ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् ।

कतार एयरवेजको विमानमा सवार काठमाडौँकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार अन्य यात्रुको खोजी गर्ने क्रममा बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा कोरोना पुष्टि भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *