स्वास्थ्य मन्त्रालयले घरबेटीलाई भन्यो, ‘महामारी भए स्वास्थ्यकर्मी तपाईँको घर बस्न आउँदैनन्, अहिले नै नआत्तिनुस्’

काठमाडौँ, १८ चैत । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी डेरा गरी बस्ने घरका घरवेटीलाई स्वास्थ्यकर्मीबाट कोरोना भाइरस सर्छ कि भनेर त्रसित नहुन आग्रह गरेको छ । उसले डेरा बसेका कुनैपनि स्वास्थ्यकर्मीलाई दुखदिने वा दुर्व्यहार गर्ने कार्य नगर्न भन्दै अन्यथा स्थानीय प्रशासनले कारवाही गर्ने चेतावनी दिएको छ ।

कतिपय जिल्लामा स्वास्थ्यकर्मीहरुलाई उनीहरु डेरा बस्ने घरवेटीले कोरोना सर्छ कि भन्दै दुर्व्यहार गर्न थालेको भन्ने खबर सार्वजनिक भएपछि मन्त्रालयको यस्तो धारणा आएको हो ।

मंगलबारको मिडिया बिफ्रिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम बहादुर कार्कीले अहिले नेपालमा कोरोना महामारीको अवस्था नभएको र सबै स्वास्थ्यकर्मीहरु सुरक्षित रहेको भन्दै अनावश्यक शंका नगर्न घरवेटीहरुलाई अनुरोध गरे । उनले यदि यस्तो कार्य अव पनि जारी राखे स्थानीय प्रशासनले कारवाही गर्ने समेत चेतावनी दिए ।

उनले नेपालमा कोरोनाको महामारीको अवस्था आएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी डेरा तथा घरमा नजाने समेत स्पष्ट पारे । उनले भने, ‘त्यस्तो अवस्था आयो भने हामी प्रत्येक हव तथा डेडिकेटेट अस्पतालमा काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई छुट्टै सुविधासम्पन्न होटलमा राख्नेछौँ । त्यसको तयारी भईसकेको छ ।’

डा. कार्कीले ग्रामिण क्षेत्रमा रहेका बासिन्दालाई आफ्नो घराएसी कृषि पेशा जस्तै घर वरपर घाँसपात गर्न निस्कन सकिने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *