पोखरामा जडान भयो पोर्टेवल पीसीआर मेसिन, कोरोना भाइरस परीक्षण शुरु हुँदै

कोरोना भाइरस लागे, नलागेको स्वास्थ्य परीक्षण गर्ने पिसिआर मेसिनलगायत स्वास्थ्य सामाग्री बोकेको हेलिकोप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरणपश्चात मेसिनबारे जानकारी लिँदै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र प्रदेश निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा । तस्वीर : जमुना वर्षा शर्मा

पोखरा , १८ चैत ।  अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस (कोभिड १९)को परीक्षण शुरु हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको पोर्टेवल मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा जडान भएपछि कोरोना परीक्षण शुरु हुने भएको हो ।

प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले पोर्टेवल मेसिन जडान भइसकेको र त्यसको एक पटक पुन परीक्षण (क्यालिव्रेसन) गर्ने काम हुँदै गरेकोले त्यसको रिजल्टपछि बेलुका वा भोलि विहानबाट परीक्षण शुरु गर्ने तयारी भएको बताए । उनले पोर्टेवलको सेवा शुरु भएपछि प्रतिष्ठानकै पुरानो ल्यावमा समेत कोरोना परीक्षण गरिने तयारी भएको जानकारी दिए ।

‘काठमाडौँबाट आज विहान पोर्टेवल मेसिन र प्राविधिकहरु चाहिने रिएजेन्ट तथा किटहरु लिएर आउनु भयो । मेसिन अहिले जडान समेत भइसकेको छ । अब त्यसको प्रारम्भिक परीक्षण पश्चात कोरोना परीक्षण शुरु हुन्छ,’ प्राडा थापाले भने ।

उनले पोर्टेवलले एक घण्टामा एक जनाको रिपोर्ट दिन सक्ने समेत जानकारी दिए । तर उनले प्रतिष्ठानमै रहेको ल्यावबाट एक घण्टामा २० देखि ३० जनाको रिपोर्ट दिनसक्ने जानकारी दिए ।

आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरामा पोर्टेवल मेसिन ल्याइएको थियो ।

प्राडा थापाले प्रतिष्ठानलाई कोरोना पोजेटिभ भएको उपचार गर्ने अस्पताल तोकिएको भन्दै आइसोलेसन र क्वारेन्टाइन अन्यत तोकिएको बताए । उनले अहिलेसम्म पोखरा क्षेत्रमा थुप्रै क्वारेन्टाइनमा बसेपनि आइसोलेसनमा रहेको खबर आफूले नपाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *