‘अस्पतालमा हुने हरेक मृत्युलाई कोरोनासंग नजोडौँ’

काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा हुने हरेक मृत्युलाई कोरोनासंग जोडेर नहेर्न आग्रह गरेको छ । सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले यस्तो आग्रह गरेका हुन् ।

चितवन र बुटवलमा बनाइएको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्युपछि आज काठमाडौँ उपत्यकाका वीर र पाटन अस्पतालमा भएका तीन मृत्युलाई पनि शंकास्पद कोरोना भन्दै खबर सार्वजनिक भएको थियो । ति अस्पतालले पनि उनीहरुको कोरोना परीक्षण गराउने भनेपछि यस्तो खबर फैलिएको थियो ।

मिडिया ब्रिफिङ कार्यक्रममा डा कार्कीले भने, ‘हामी लकडाउनमा छौँ कोरोनाको त्रास हाम्रो मनमा हुनु स्वभाविक हो तर अस्पतालमा हुने हरेक मृत्युलाई कोरोनासंग जोडदा त्यसले समाजमा राम्रो सन्देश जाँदैन् । व्यक्ति परिवार समाज र सम्पूर्ण देशमा त्रासको स्थिति पैदा गर्दछ । यसैको कारण अहिले गाँउ तथा समुदायमा जुनसुकै मृत्युलाई कोरोनासंग हेर्न थालिएको भन्ने सुनेका छौँ । त्यसैले यो सम्वेदनशील विषयलाई हामीले हलुका रुपमा प्रस्तुत नहोउँ ।’

उनले कोरोनाबाट मृत्यु भएको भन्ने आशंका गरिएका चितवन र बुटवलको केशमा रिपोर्ट नेगेटिभ आइसकेको र बाँकी तीनवटा केश परीक्षणको क्रममा रहेको भन्दै नआत्तिन समेत आग्रह गरे ।

कोरोनाको विश्वव्यापी रुपमा फैलावट दरमा तिब्रता भएपनि ८० प्रतिशत पोजेटिभ केश सामान्य, १५ प्रतिशत सामान्य भन्दा केही बढी र बाँकी पाँच प्रतिशतलाई मात्रै भर्ना गरी उपचार गर्नुपर्ने विश्वव्यापी तथ्यांक रहेको भन्दै यसमा नआत्तिन र सतर्कता अपनाउन आग्रह गरे ।
नेपालमा अहिलेसम्म ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये एक जना निको भएर घर फर्केका छन् भने बाँकी चार जना उपचारकै क्रममा रहेको छन् । अस्पतालहरुले उनीहरुको पनि अवस्था सामान्य रहेको बताएको छ ।

डा कार्कीले नेपालमा अहिलेसम्म बाहिरबाट आएकाहरुमा मात्रै केश देखिएको र स्थानीय तथा समुदाय तहमा यसको संक्रमण नदेखिएकोले आत्तिईहाल्नु पर्ने अवस्था नरहेको समेत बताए । यद्धपी उनले आम नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरे । ‘हामी कोरोना विरुद्धको लडाईमा छौँ हार्ने वा जित्ने भन्ने हाम्रै हातमा छ र जित्नका लागि घरमै बस्नु उपयुक्त हुन्छ,’ उनले भने ।

डा काकीले अहिले सुख्खा खोकी छ, सास फेर्न गाह्रो छ र त्यो व्यक्ति वा उसको परिवारको सदस्यहरु कोरोना प्रभावित देशबाट आएको हो भने त्यस्तो व्यक्तिलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राखेर परीक्षण तथा उपचार गर्ने गरिएको समेत बताए ।

अहिलेसम्म ९९३ जनाको परीक्षण

त्यसअघि पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अहिलेसम्म ९९३ जनाको परीक्षण भएको र आज ७६ जनाको नयाँ परीक्षण भइरहेको बताए ।

उनले टेकु अस्पतालको आइसोलेसनमा ४ जना, पाटनमा ३ जना भएको समेत जानकारी दिए । उनले प्रदेशका अस्पतालका आइसोलेसनमा ९३ जना रहेको र अहिलेसम्म प्रदेशबाट २१७ जनाको नमूना परीक्षणका लागि केन्द्रमा आएको बताए ।

यस्तै उनले पछिल्ला ४ जना पोजेटिभको सम्पर्कमा आएका परिवार र आफन्तहरुको परीक्षणको क्रम चलेको अहिलेसम्म नेगेटिभ आईरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *